काठमाडौं । जारी एभरेष्ट प्रिमियर लिग ‘इपिएल’ क्रिकेटमा ललितपुर प्याट्रियट्सले पहिलो जीत दर्ता गरेको छ ।
कीर्तिपुरस्थित त्रिबी मैदानमा आइतवार भएको पहिलो खेलमा ज्ञानेन्द्र मल्लको टिम ललितपुर प्याट्रियट्सले पृथु बास्कोटाको कप्तानीमा रहेको टिम चितवन टाइगर्सलाई ११ रनले हराउँदै पहिलो जीत निकालेको हो ।
१ सय ४४ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको चितवनको पारी ८ विकेटको क्षतीमा मात्र १ सय ३२ रनमा समेटिएको थियो ।
चितवनका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४१ रन बनाए । त्यस्तै कप्तान पृथु बास्कोटाले २६ रन तथा भिम सार्कीले २१ रन बनाए । ललितपुरका सन्दीप लामिछानेले ३ तथा सन्नी पटेलले २ विकेट लिन सफल भए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर प्याट्रियट्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४३ रनको योगफल तयार पारेको थियो ।
ललितपुरका लागि सोनु तामाङले नटआउट ३५ रनको योगदान दिए । सन्दीप जोराले नटआउट २५ रन, गौरव तामोरले ३० रन तथा जयकिशन कोल्शावालाले २० रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल ३ रनमा पेभेलियनमा फर्किए ।
सन्नी पटेलले १९ रनको योगदान दिए । यता चितवनका जर्ज स्कटले २ विकेट लिए । शनिवार भएको पहिलो खेलमा ललितपुर विराटनगर वारियर्ससँग ३ विकेटले पराजित भएको थियो ।
यो जीतपछि ललितपुर प्याट्रियट्सले २ खेलबाट २ अंक जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया