इंग्लिस प्रिमियर लिगमा उल्भ्स विजयी, लिभरपुल शीर्ष स्थानमा यथावत

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत उल्भ्स विजयी भएको छ । 

आइतवार राति सम्पन्न भएको खेलमा उल्भ्सले न्युक्यासल युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेल शुरु भएको १७ मिनेट पनि बित्न नपाउँदै उल्भ्सका लागि डिगो जोटाले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

प्रतिस्पर्धात्मक बनेको खेलको २३ औँ मिनेटमा न्युक्यासलका एयोजी पेरेजले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । खेलको पहिलो हाफसम्म दुवै क्लब एक-एक गोलको बराबरीमा रोकिएका थिए ।

५७ औँ मिनेटको खेल चलिरहँदा दिआन्द्रे यद्लिन रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि न्युक्यासल १० खेलाडीमा सिमित भएको थियो । खेलको इन्जुरी समयमा माट होहर्टीले गोल गरेपछि न्युक्यासल स्तब्ध बनेको थियो ।

जीतपछि उल्भसले २२ अंकका साथ लिगको दशौं स्थानमा उक्लिएको छ । १३ अंक बनाएको न्युक्यासल भने लिगको १५ औँ स्थानमा छ । ४२ अंकका साथ लिभरपुल लिगको शीर्ष स्थानमा छ । ४१ अंक बनाएको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?