खेलाडीलाई सुनको मेडल दिने व्यक्ति मै हुँ : राजेश गुरुङ

काठमाडौं । ‘हुने विरुवाको चिल्लो पात’ यो उखान नेपाली समाजमा परा पूर्वकालदेखि नै चलन चल्तिमा आएको हो । तर, यहि उखान ठ्याक्कै पोखरेली राजेश ‘घोताने’ गुरुङको जीवनसँग मिल्दो जुल्दो छ । 

विगत लामो समयदेखि खेलकुद क्षेत्रको विकाशमा लागि परेका गुरुङ दोस्रो पटक राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा मनोनित पनि भएका छन् । गुरुङ यसअघि पनि राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यका रुपमा काम गरिसकेका अनुभवी व्यक्ति समेत हुन् ।

वि.सं २०२५ सालमा भारतको इन्दौरमा जन्मिएका गुरुङको स्थायी घर स्याङजा जिल्लाको कोला परेवा छाप हो । हाल गण्डकी प्रदेश पोखरा रामबजार वडा नम्बर १५ मा बसोबास गरिरहेका गुरुङ पूर्व राष्ट्रिय बक्सिङ खेलाडी समेत हुन् । 

बुवा रोक्कन सिंह गुरुङ र आमा जोकमाया गुरुङको जेठो छोरा राजेश नेपाली खेलकुद क्षेत्रका एक होनहार व्यक्ति समेत हुन् । भारतमा जन्म भएपनि उनले आफ्नो बाल्यकाल भने पोखरामा नै बिताए । गुरुङ समुदायमा जन्मिएको छोरा लाहुरे हुने चलन थियो । तर, गुरुङ भने खेलकुदमा केही गर्छु भन्ने अठोटका साथ नेपाली खेलकुदमा जमे ।

वि.सं २०४५ सालमा तेक्वान्दोका प्रशिक्षक स्वर्गिय अर्जुन गुरुङको प्रेरणाले उनी नेपाली खेलकुद क्षेत्रमा प्रवेश गरेका थिए । 

‘जीवनमा पहिलो पटक नै बक्सिङ प्रतियोगिता खेल्न काठमाडौं आए, प्रतियोगितामा रामै खेले र कास्य पदक पनि जित्न सफल भए’, उनले सम्झिदै भने । साथै उनले खेलप्रति अझ लगाव बढ्दै गएपछि नेपाली खेलकुदमा नै जमेको पनि उनले बताए । 

बन्द प्रशिक्षणका क्रममा ५० रुपैयाँ भत्ता खाएर खेलाडी जीवनको पनि बिताएको उनले सम्झिए । ‘त्यतिबेला हामीले ५० रुपैयाँ भत्ता थापेर दुई छाक खानाका साथै डाइट पनि खान पुग्थ्यो, त्यतिबेला निक्कै दुःख थियो, मैले ४ वर्ष जति बक्सिङ खेले, त्यहि बुझेर पनि होला खेलकुद प्रति मेरा लगाव बढेको’, उनले थपे । 

साथै खेलाडी जिवन त थियो नै त्यसलगतै भारतिय सेनामा समेत जागिरे भए । ‘भारतिय सेनामा एक वर्ष जति सेनाको जागिर खाएपछि यो मेरो लागि उचित रहेन छ, त्यपछि वैदेशिक रोजगारीको लागि विदेश पनि गए, तर, अव नेपालमा नै गएर केही गर्छु भन्ने मनमा आयो, लगतै नेपाल आएपछि व्यवसायका साथै खेलकुदलाई पनि अगाडि बढाए’, उनले लोकपथलाई बताए । 

खेलकुद परिषद्का केन्द्रिय सदस्य गुरुङ नेपाल बक्सिङ संघका पूर्व उपाध्यक्ष, ब्याडमिन्टन संघका पूर्व सदस्य र नेपाल सुटिङ संघको उपाध्यक्ष भएर समेत काम गरिसकेका छन् । हाल गुरुङ मदन भण्डारी स्पोर्टस एकाडेमिका प्रदेश नं. ४ का इन्जार्ज समेत हुन् ।

हालै मात्र उपाध्यक्ष पिताम्बर तिम्सिना, इन्दिरा निरौलासहित गुरुङ राष्ट्रिय खेलकुद परिषद्मा बोर्ड सदस्यका रुपमा नियुक्त भएका थिए । 

‘राज्यले खेलकुदमा केही दिनै सकेकै छैन्, यदि नेपाललाई चिनाउने हो भने खेलकुदबाट मात्रै सम्भव छ, अरुबाट खासै केही देख्दिन्, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पनि स्पिट त्यहि छ, तर दाया-बायामा चल्ने व्यक्तिहरु राम्रो भएन’, उनले गुनासो पोखे । 

उनले भने, ‘साच्चै भन्ने हो भने, मैले अहिले जुन स्थान हासिल गरेको छु, खेलाडी र खेलकुद बुझेकै कारणले यहाँ आइपुगेको छु’ । 

‘त्रिपुरेश्वर मैदान छ तर, राज्यले खेलाडीलाई दिनुपर्ने केही पनि सेवा सुविधा छैन, नेपाली खेलकुदलाई परिवर्तन गर्ने नै हो भने हिजोको दिनमा पदक ल्याएको खेलहरु मार्सल आर्टका खेललाई फेरी जोगाएर ल्याउने हो भने फेरी नेपालले धेरै संख्यामा पदक भित्राउन सक्छ, साथै प्रशिक्षकहरुले पनि उत्कृष्ट प्रशिक्षण दिए संघहरुमा खेलकुद बुझेको व्यक्ति आउनु जरुरी छ, राजनीतिक पाटीको व्यक्ति आएपनि खेलकुद बुझेको र जानेको आएमात्र नेपाली खेलकुदले महार फेर्नेछ’, उनले गुनासो पोखे ।

 
साथै गुरुङले पर्यटकिय शहर पोखरालाई खेलकुदको केन्द्रको रुपमा बनाउने पनि बताए । ‘खेलकुद परिषद्को पदमा नहुँदा पनि मैले खेलकुदमा नै काम गरिरहेको छु, पोखरा क्रिकेट मैदानमा हालै मात्र बाटो भर्ने काम मैले नै गरे, मेयर मान बहादुरी जिसीले पनि क्रिकेट मैदानमा सम्याउन सहयोग गर्ने प्रतिबद्धता दिएको छ, क्रिकेट मैदान निर्माणको लागि आएको १० लाख रुपैयाँले पाइप लाइन बिच्छ्याउने देखि सबै काम गरे’, उनले लोकपथलाई बताए । 

‘हिजोको दिनमा के भयो हामीलाई थाहा छैन तर, अबको दिनमा खेलकुदलाई राम्रोसँग लान्छौँ’, उनले प्रतिबद्धता व्यक्त गरे । 

 

वि.सं २०६४ सालमा सम्पन्न भएको २२ औँ राष्ट्रिय बक्सिङ प्रतियोगिताको संयोजक हुँदा गुरुङले खेलाडीहरुलाई सुनको मेडल दिदैँ नेपाली खेलकुदमा उदाहरणिय काम समेत गरेका थिए । त्यतिबेला उनले ९ लाल सुन र दुई तोला चाँदीको मेडल वितरण गरेका थिए । २२ वटा मेडल विजेता विभागिय टिमका खेलाडीलाई दिएको समेत उनले सम्झिए । 

‘त्यतिबेला मैले ३०, ४० हजार रुपैया भत्ता पाएको थिए, मैले सहारा क्लब र कराँते तथा विभिन्न संघबाट पाएको भत्तालाई मैले आर्थिक स्तर कमजोर भएका खेलाडीलाई दिए’, उनले भने । 

उनले सम्झिदै भने, ‘सिराहाको एक खेलाडी औषधी खाने पैसा नहुँदा गिटी कुटेको मैले देखे, सुनकै मेडल भएको भए त्यसलाई राखेर पनि आर्थिक संकट टार्न सक्थ्यो, संकट परेको बेलामा पनि मेडल राखेर आफुनो समस्या टार्न सकोस भन्ने मेरो धारणा थियो, जस्तो की अहिले सर्टिफिकेट राखेर लोन लिए जस्तै हो’ । 

खेलकुद परिषद्मा पहिलो पटक बोर्ड सदस्यका रुपमा १२ महिनामात्र काम गरेका उनले पोखरामा अन्तर्राष्ट्रिय स्तरको भवन बनाउन युवा तथा खेलकुद मन्त्रालयसँग कुरा भएको पनि उनले जानकारी दिए । 

‘यदि खेलकुदलाई समृद्धीतर्फ लाने हो भने एकजुट भएर काम गर्न जरुरी छ, हाल पोखरा क्रिकेट मैदानमा निर्माणको लागि एक करोड ७२ लाख रुपैयाँ विनियोजन भएको छ, त्यतिबेला कुनै साथीले ठेकेदार कम्पनीलाई कमिसन नमाग्न पनि म आग्रह गर्छु, साथै मैदानको टेन्डरबाट आफुलाई फाइदा नलिकन खेलाडीलाई फाइदा पुग्ने हिसाबले काम गर्नुपर्छ’, उनले थपे । 

साथै उनले सुतेको खेलकुद संघ ‘झोले संघ’लाई बाँकी नराख्ने पनि जानकारी दिए । उनले थपे, ‘सक्रिय संघले पनि खेलाडीहरुलाई कसरी तयारी गने, प्रशिक्षणमा ध्यान दिने कुराको हेक्का राख्नु जरुरी छ, कामै नगर्ने त्यस्ता संघलाई कारवाहीको दायरामा पनि चाडैं ल्याउँछौं’ । 

खेदकुद परिषद्मा तीन पदाधिकारीको नियुक्तीसँगै अहिले नेपाली खेलकुद क्षेत्र तातिएको छ । गुरुङसहित उपाध्यक्ष तिम्सिना र सदस्य निरौलामाथि खेल संघका अध्यक्ष, महासचिव लगायतका व्यक्तिहरुले च्यालेन्ज दिन थालिसकेको छन् । 

यी तीनै पदाधिकारीले नेपाली खेलकुद क्षेत्रभित्र देखिएको राजनीतिकरण, संघको विवाद लगायत केही झिना मसिना समस्यालाई सुधार गर्न सक्छ वा सक्दैन् त्यो भने हेर्न बाँकी नै छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?