काठमाडौं । शिवरात्री तथा नेपाली सेना स्थापनाको दुई सय ६० औँ वार्षिकोत्सवका अवसरमा आयोजित ४२ दशमलव एक सय ९५ दूरीको ‘प्रधानसेनापति खुल्ला म्याराथन दौड’ प्रतियोगितामा सेनाका धावक राजन रोकाय प्रथम भएका छन् ।
प्रधानसेनापति प्रभुराम शर्माले जङ्गी अड्डास्थित खेलमैदानमा आयोजित समारोहमा प्रथम हुन सफल रोकायलाई रु तीन लाख नगद पुरस्कार र सिरिक अटोमोबाइल्सप्रालिबाट प्रायोजन गरे । उक्त प्रतियोगितामा अमलदार खडकबहादुर खड्का द्वितीय तथा जमदार कृष्णबहादुर बस्नेत तृतीय भए ।
द्वितीय हुने खड्कालाई रु दुई लाख र तृतीय हुने बस्नेतलाई रु एक लाख नगद र प्रमाणपत्र प्रदान गरियो । विसं २०७२ देखि सेना दिवसका अवसरमा सञ्चालित यो प्रतियोगिता आठौँ संस्करण हो । हाफ म्याराथन खुल्लातर्फ दीपक अधिकारी प्रथम, मुकेश पाल द्वितीय र तीर्थ पुन तृतीय घोषित भए ।
प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमश : रु ७५ हजार, रु ५० हजार र रु ३५ हजार नगद प्रदान गरियो । प्रतियोगितामा प्रथम हुने धावकलाई काठमाडौं महानगरपालिकाका तर्फबाट यामाहा मोटरसाइकल प्रदान गरिएको थियो । महिलातर्फको हाफ म्याराथनमा राजपुरा पछाई, पूर्णलक्ष्मी न्यौपाने र निर्मला केसीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरी रु ७५ हजार, रु ५० हजार र रु ३५ हजार नगद तथा प्रमाणपत्र प्राप्त गरे ।
प्रथम हुने महिला धावकलाई कुजु नेपाल प्रालिबाट स्कुटर तथा पूर्वप्रधान सेनापतिद्वारा उपलब्ध गराइएको रु २५ हजार प्रदान गरियो । सैनिक महाविद्यालय, विद्यालय, राष्ट्रिय सेवा दलका क्याडेट सम्मिलित १० किमी दौडतर्फ सोनु घतानी प्रथम, साधना श्रेष्ठ द्वितीय, मनिषा गिरी तृतीय भई क्रमशः १० हजार, सात हजार र पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरे ।
सोही समूह र दूरीको छात्रतर्फ विकेश घिमिरे, प्रज्वल श्रेष्ठ र सुशील बोहरा क्रमशः प्रथम, द्वितीय र तृतीय भए । दश किमी दूरीकै सैनिक अधिकृत महिला सम्मिलित प्रतियोगितामा अस्मिता जिसी, दुर्गा केसी र गीता गुरुङ क्रमशः प्रथम, द्वितीय र तृतीय घोषित भए ।
सैनिक अधिकृत पुरुषतर्फ सुरज ऐरी, विशाल चन्द्र र जिलेश्पीजंग कार्कीले पनि प्रथम, द्वितीय र तृतीय घोषित भई क्रमश : रु १० हजार, सात हजार र पाँच हजार नगद तथा प्रमाणपत्र प्राप्त गरे । प्रधानसेनापति सम्मिलित पाँच किमी दूरीको वाकाथनमा सैनिक उच्च अधिकृतका साथै समाजका विभिन्न क्षेत्रका व्यक्ति सहभागी भए ।
सेनाको त्रिभुवन आर्मी क्लब मुलुकको खेलकुद क्षेत्रको च्याम्पियन विभागीय टोली हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिँदै आएको सेनाले मुलुकभित्रका विभिन्न विधाका खेलाडीको पहिचान गरी तालिम प्रशिक्षणका साथ आफ्नो क्लबमा आबद्ध गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया