काठमाडौं । श्रीलंकाको विद्रोही समूह तमिल टाइगर्सका नेता भेलुपिल्लई प्रभाकरन जिवित रहेको समाचार सार्वजनिक भएपछि अहिले सनसनी मच्चिएको छ ।
लिबरेशन टाइगर्स अफ तमिल ईलम (एलटीटीई) का नेता भेलुपिल्लई प्रभाकरन जिवित रहेको दाबी उक्त समूहमा आवद्ध केही नेताहरुले गरिरहँदा श्रीलंकाली सरकारले भने यो दाबी असत्य भएको जनाएको छ ।
बीबीसीका अनुसार श्रीलंकाली सेनाका प्रवक्ता ब्रिगेडियर रवि हेराथले प्रभाकरन सन् २००९ मा गृहयुद्धको अन्तिम चरणमा मारिएको जिकीर गरेका हुन् । प्रभाकरनको मृत्यु लगत्तै श्रीलंकाली सरकारले २६ वर्ष लामो गृहयुद्ध सकिएको घोषणा गरेको थियो ।
सेनाका अनुसार युद्धको अन्तिम दिन मे १८, २००९ मा प्रभाकरनको मृत्यु भएको हो र मृत्युपछि उनको डीएनए परीक्षणसमेत गरिएकाले कुनै विवाद छैन ।
उता, तमिल नेता तथा लेखक पाझा नेदुमारनको नेतृत्वमा रहेका तमिल राष्ट्रवादीहरूको समूहले भने सोमवार सञ्चारमाध्यमलाई प्रभाकरन जीवित रहेको जानकारी दिएका थिए ।
पत्रकारहरुसँग पाझाले ‘अन्तर्राष्ट्रिय राजनीतिक अवस्था र सिन्हली जनताको विरोध राजपक्षलाई हटाउन पर्याप्त थियो । त्यसले प्रभाकरनको उदयको लागि मञ्च तयार गरेको छ ।’ भन्ने उल्लेख गरेको बीबीसीले उल्लेख गरेको हो ।
पाझाले गरेको दाबीमा, ‘तमिल ईलम आन्दोलनका नेता प्रभाकरन जिवित र सुरक्षित छन् भन्ने समाचार घोषणा गर्न पाउँदा हामी धेरै खुशी छौं । हामी आशा गर्छौं– यसले उनको बारेमा फैलिएको अनुमान र शंकाको अन्त्य गर्नेछ ।’ भन्ने रहेको बीबीसीको समाचारमा छ ।
प्रभाकरनले चाँडै तमिल ईलम जनताको मुक्तिको लागि आफ्नो योजना घोषणा गर्ने भन्दै उनले श्रीलंकाका तमिल जनता र विश्वभरिका तमिलहरू एकजुट भएर उनलाई पूर्ण समर्थन गरून् भन्ने हामी चाहन्छौं भन्ने उल्लेख गरेका थिए ।
सन् २००९ मा तमिल आफैंले नै प्रभाकरनको मृत्यु भएको स्वीकारिसकेका सन्दर्भमा यतिबेला यो विषय किन सार्वजनिक गरियो भन्ने प्रश्नमा उनले राजापाक्षको शासन जनताले नै मिल्काइसकेपछि योभन्दा उपयुक्त समय अर्को नहुने भएकाले सार्वजनिक गरिएको तर्क गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया