सावधान ! ग्याँस लिक भएको कोठामा बिजुली बत्ति बाल्न बनौं सतर्क

ग्याँस लिक भएर, आगो लागेर र विष्फोट भएर मानिसहरुको मृत्युको खबर आइरहेका हुन्छन् । तर, ग्याँस सिलिण्डर दुर्घटनाका कारण हुने यस्ता क्षतिको न्यूनीकरणका लागि पर्याप्त प्रयासहरु भएका छैनन् ।

बिहीबार पनि आफ्नै घरमा भएको ग्याँस सिलिन्डरमा आगो लाग्दा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भयो । उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । सोही घटनामा परेर गम्भीर घाइते बनेका सांसद एवं नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारततर्फ लगिएको छ । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी घाइते भएका हुन् ।

त्यस्तै, बिहीवार नै दाङमा खाना पकाउने ग्याँस सिलिण्डर पड्किँदा दुई जना घाइते भए । तुलसीपुर उपमहानगरपालिका-१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने ग्यास पड्किँदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवन भरतपुर महानगरपालिका घर भई तुलसीपुर-१६ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका हुन् ।

हरिकला जस्तै सयौँ नागरिकले ग्यास विस्फोटका कारण अकालमै ज्यान गुमाउने गरेका छन् भने कोही विस्फोटपछि आधा जलेको शरीर लिएर बाँच्न विवश छन् ।

भण्डारीको घरमा भएको ग्याँस सिलिण्डर दुर्घटनामा नयाँ तथ्य आएको छ । सिलिण्डरमा आगो पनि नलागेको र विष्फोट पनि भएको नदेखिएकाले लिक भएको ग्याँसले कोठा भरिँदा उक्त समयमा बिजुली बत्ति बाल्दा निस्केको झिल्काले आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यसरी ग्याँस लिक भएको कोठामा बिजुली बत्ति बाल्नु पनि खतरा हुने यस प्रकरणले देखाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान बाहादुर कार्कीका अनुसार सांसद भण्डारीको घरमा भएको ग्याँस सिलिण्डर दुर्घटनामा सिलिण्डरमा आगो पनि नलागेको र विष्फोट पनि भएको नदेखिएको बताएका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले दुर्घटनाका बोलामा घरमा ग्याँस पनि नबालिएको र कुनै आगो पनि नबालिएको खुलेको छ । यस्तोमा ग्याँस लिक भएको हुनसक्ने र उक्त समयमा बिजुली बत्ति बाल्दा निस्केको झिल्काले आगलागी भएको हुनसक्ने अनुमान गरिएको एसएसपी कार्कीले जानकारी दिए ।

नेपाल आयल निगमका अनुसार देशभरहाल नेपालमा १ करोड ३१ लाख बराबरको संख्यामा रहेका छन् । त्यस्तै नेपालमा हाल ६२ वटा ग्याँस कम्पनीहरु रहेका आयल निगमले जनाएको छ । जसमध्ये ४५ वटा कम्पनीहरुले नेपाल स्ट्यान्डर्ड (एनएस) चिन्ह प्राप्त गरेका छन् । नेपाल आयल निगमको गत जनावरी १६ देखि ३१ सम्मको तथ्यांक हेर्दा १९ लाख ९३ हजार ७ सय २० वटा सिलिण्डर खपथ भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७८-७९मा कुल ३करोड ७७ लाख ४८ हजार ४ सय ५० सिलिण्डर खपथ भएको थियो ।

अर्कातिर, सिलिण्डरको म्याद सकिँदा पनि यस्तो दुर्घटना हुनसक्ने विज्ञहरु बताउँछन् । त्यसो हो भने सिलिण्डरको म्याद सकिएको कसरी थाहा पाउने त ? हामीले प्रत्येक पटक ग्यासको सिलिण्डर सकिएर फेर्दा सिलिण्डरको म्याद कहिलेसम्म छ भनेर खासै वास्ता गर्दैनौं । तर यस्ता सामान्य कुरामा ध्यान नदिदाँ पछि समस्या निम्तन सक्छ ।

भान्सामा प्रयोग हुने सिलिण्डरको म्याद सहजै हेर्न र पत्ता लगाउन सकिन्छ । सिलिण्डरको घाँटीमा भएका ३ वटा डण्डीमध्ये एउटामा भित्रपट्टी सिलिण्डरको म्याद कोड राखिएको हुन्छ । सो कोडकै आधारमा हामीले सिलिण्डरको एक्सपाइरी डेट पत्ता लगाउन सक्छौं ।

सिलिण्डरको घाँटीमा डण्डीमा ए, बी, सी र डी मध्ये एउटा अक्षर अंग्रेजीमै लेखिएको हुन्छ । त्यसपछि १३, १४, १५, १६ जस्ता अंक लेखिएका हुन्छन् । यही अक्षर र अंकबाट सिलिण्डरको म्याद पत्ता लाग्छ । सिलिण्डरमा लेखिएको अक्षरले ३–३ महिना जनाउँछ । अर्थात, यदी तपाईंको सिलिण्डरमा ए लेखिएको छ भने त्यसले जनवरी, फेब्रुअरी र मार्च महिना जनाउँछ । त्यस्तै बी लेखिएको छ भने त्यसले अप्रिल, मे र जुन महिना जनाउँछ । सीले जुलाई, अगष्ट र सेप्टेम्बर तथा डीले अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनालाई जनाउँछ ।

यसरी अगाडीका अक्षरबाट सिलिण्डरको म्यादको महिना पत्ता लाग्छ । त्यस्तै अक्षरभन्दा पछाडी भएको अंकले भने मिति जनाउँछ । अंकमा २४ लेखिएको छ भने यसले वर्ष २०२४ लाई जनाउछ ।

यो तस्बिर हेर्नुहोस् : 

तस्बिरमा देखाइएको सिलिण्डरको एक्सपाइरी डेट कोड बी २७ लेखिएको छ । यसको मत्लब यो सिलिण्डरको म्याद जुन २०२७ सम्म रहेको छ भनेर बुझ्नुपर्छ । बी लेखिएका कारण अप्रिलदेखि जुनसम्म भएको हो र २७को मतलब २०२७ हो । यसरी हामीले आफ्नो सिलिण्डरको म्याद पत्ता लगाउन सक्छौँ ।

यसरी हामी आफैँपनि सजक भएर भान्सामा प्रयोग हुने सिलिण्डरको म्याद हेर्यौँ मात्र भने यसबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्नका लागि सावधानी अपनाउन सकिन्छ । एउटा सिलिण्डरको म्याद १० वर्षसम्म हुन्छ । सामान्यतया सिलिण्डरको तौल १४.२ केजी हुन्छ ।

भिडियो हेर्नुहोस् : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?