काठमाडौं । विभागिय टिम नेपाल आर्मी दोश्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुल्ला किक बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।
आर्मी टिमले कुल ५ स्वर्ण, ४ रजत र २ कास्य पदक जित्दै टिम च्याम्पियन बनेको हो । ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ३ कास्य पदकका साथ शसस्त्र प्रहरीको एपीएफ क्लब दोश्रो भयो ।
तेश्रो स्थानको सो क्योकुसिनले १ स्वर्ण, २ रजत र १ कास्य पदक हात पा-यो । १० स्पर्धा समावेश प्रतियोगितामा बाँकी १ स्वर्ण पदक भने शंखमूलले जित्यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १२ हजार ५ सय नगद पुरस्कार हात पारे ।
ललितपुरको चापागाउँमा भएको प्रतियोगिताको पुरुषमा एपीएफका सञ्जय राई तथा महिलामा आर्मीकी लुमन्ती श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै एपीएफका सन्जिव महर्जन उदीयमान खेलाडी चुनिए । तीनै खेलाडीले जनही १५ हजार नगद पुरस्कार जिते । टीकाथलीले अनुशासित टिमको उपाधि हात पा-यो ।
किक बक्सिङमा सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिताअन्तर्गत पुरुष ५० केजीमा एपीएफका सञ्जय राई पहिलो भए । उनले फाइनलमा एनबीसीका यानुब थुलुङ राईलाई पराजित गरे । यता ५५ केजीमा पहिलो भएका एपीएफका सुमन नेपालीले फाइनलमा आर्मीका महेश भुजेललाई हराए ।
६० केजीको फाइनलमा शंखमूलका योमेश तामाङले आर्मीका राजेश चौधरीलाई पाखा लगाउँदै शीर्ष स्थान हात पारे ।
पुरुष ६५ केजीमा आर्मीका पदम राई तथा ७० केजीमा सो क्योकुसिनका प्रदीप तामाङले स्वर्ण पदक जिते । फाइनलमा पदमले एपीएफका सन्जिव महर्जन तथा प्रदीपले एपीएफका वीरेन्द्र सिंहलाई निराश पारे । खुलामा आर्मीका चित्रसिंह ठकुरीले बाजी मारे । उनले फाइनलमा आफ्नै क्लबका किरणसिंह साउदलाई पाखा लगाए ।
महिलाको ५० केजीमा आर्मीकी एलिना चौधरीले एपीएफकी एलिशा चौधरी, ५५ केजीमा एपीएफकी एन्जिला श्रेष्ठले आयोजककी समिता राई, ६० केजीमा आर्मीकी लुमन्ती श्रेष्ठले सो क्योकुसिनकी शिवानी श्रेष्ठ तथा खुलामा आर्मीकी विन्दु पुन मगरले आर्मीकै मन्जु विकलाई फाइनलमा पाखा लगाउँदै च्याम्पियन बने ।
प्रत्येक तौलसमूहका विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे । हरेक तौल समूहमा तेश्रो हुने दुई खेलाडीलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिएको थियो ।
विजेता खेलाडीहरुलाई पूर्व उप प्रधानमन्त्री प्रकाशमान सिंह, पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणा, राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष एवं प्रतियोगिता संयोजक मिनकृष्ण महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तीनदिने प्रतियोगितामा १ सय ४८ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया