काठमाडौं । नेपाल टि-ट्वान्टी लिगमा स्पट फिक्सिङको आरोपमा पक्राउ परेका राष्ट्रिय टोलीका पूर्व खेलाडी महबुब आलमले आफ्नो प्रस्ताव नेपाली खेलाडीले अस्वीकार गरेको बयान दिएका छन् ।
महबुबका अनुसार उनले हासिम अन्सारी र आरिफलाई प्रस्ताव गरेका थिए तर उनीहरुले स्वीकार नगरेका कारण कुनै रकम पाएनन् ।
सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरुविरुद्ध शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो ।
यस्ताे छ महबुबको बयान :
मेरो छिमेकी भाईले रवि माझीले मलाई हालै सम्पन्न नेपाल टी – २० क्रिकेट लिग संचालन भई रहेको बेला निजको WhatsApp No बाट मैले प्रयोग गर्ने WhatsApp No मा मलाई सम्पर्क गरी तत्काल जारी लिगमा पोखरा एभेन्जर्सका खेलाडी म. आरीफ शेख र फार वेष्ट यूनाईटेडका खेलाडी महमद हासिम अंसारीले कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाई आउट भएमा वा बलिङ गर्दा १ ओभरमा विपक्षी ब्याट्सम्यानलाई १० भन्दा बढी रन बनाउन दिए निजहरुलाई ने.रु. छ लाख रकम निजले उपलब्ध गराउने कुरा सम्बन्धित व्यक्तिहरुलाई जानकारी गराई दिनू भनेकाले मैले मेरो मोबाईलबाट तत्काल म.आरीफ शेखलाई निजको मोबाईलमा सम्पर्क गरी रवि माझीको प्रस्तावबारे जानकारी गराएको थिएँ ।
सो प्रस्तावबारे म. आरीफ शेखले तत्काल निर्णय दिएनन् । मैले म. आरीफ शेखको मोबाईल नं समेत रवि माझीलाई WhatsApp मा पठाई मैले सबै कुरा गरेको छु, तिमी पनि कुरा गर भनी मेसेज पठाएको थिएँ । खेलाडीको काम हुना साथ पैसा उपलब्ध हुने कुरा पनि बताएका थिए । सो पश्चात मैले म.आरीफ शेखको मेसेन्जरमा तिमिलाई कसैले फोन गर्यो भनी प्रश्न गर्दा निजले मबाट यो काम हुँदैन भनी जवाफ दिए । मैले निजलाई पैसा राम्रो दिएको भएर कुरा गरेको, बाँकी ६ म्याचको प्रति म्याच ६ लाखका दरले रु.३६ लाख तिमीलाई हुने कुरा पनि मेसेन्जरमा बताएको थिएँ । मलाई पनि प्रति म्याच २ लाख दिने बताई खेलाडीहरुसँग सम्पर्क गर्न भनिएको थियो । मैले त्यसैले तिमिसँग सिधा कुरा गराएको भनी म. आरीफ शेखलाई जानकारी गराएको थिएँ । म. आरीफ शेखले कुन टिमसँगको खेलमा प्रस्ताव गरे बमोजिम खेल खेल्नु पर्ने भन्ने बारेमा रवि माझीले बताएका थिएनन् ।
म. आरीफ शेखलाई कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दाकम रन बनाई आउट भएमा वा बलिङ गर्दा १ ओभरमा विपक्षी ब्याट्सम्यानलाई १० भन्दा बढी रन बनाउन दिए निजलाई ने.रु. छ लाख दिने भनी रवि माझीको प्रस्ताव नै मैले निज म. आरीफ शेखलाई राखी दिएको हुँ । मिति २०७९/०९/१४ गते मैले महमद हासिम अंसारीले निजले प्रयोग गर्ने नं बाट मैले प्रयोग गर्ने नं भएको मोबाईल फोनमा फोन गरेका थिए । उक्त समयमा मैले निजले खेल्ने कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाई आउट भएमा ने.रु. चार लाख रकम दिने रवि माझीको प्रस्ताव मैले राख दिएको थिएँ। निजले तत्काल कुनै निर्णय दिएनन् । महमद हासिम अंसारीले कुन टिमसँगको खेलमा प्रलोभन देखाए बमोजिम खेल खेल्नु पर्ने थियो, सो बारेमा रवि माझीले बताएका थिएनन् । कुनै खेलमा ब्याटिङ गर्दा खेलाडीले ५ भन्दा कम रन बनाई आउट भएमा वा बलिङ गर्दा १ ओभरमा विपक्षी ब्याट्सम्यानलाई १० भन्दा बढी रन बनाउन दिए निजलाई ने.रु. छ लाख रवि माझीले उपलब्ध गराउने प्रस्ताव मैले महमद हासि अंसारीलाई राख्दा ने.रु. चार लाख दिने भनी प्रस्ताव राखेको थिएँ ।
रवि माझीले ने.रु. छ लाख मध्येबाट मलाई ने.रु. दुई लाख दिने प्रस्ताव गरेको कारण मैले महमद हासिम अंसारीलाई ने.रु. चार लाख दिने भनी प्रस्ताव गरेको थिएँ । उल्लेखित प्रस्ताव खेलाडीले स्वीकार गरे मात्र मलाई ने.रु. दुई लाख दिने रवि माझीले बताएका थिए।महमद हासिम अंसारीको redmi note 7 मोबाईल फोन परीक्षण पश्चात परीक्षण प्रतिवेदनसाथ पेश हुन आएको DVD मा भएको अडियो रेकर्ड कम्प्यूटरमा प्ले गरी मलाई सुनाउँदा सुनी पाएँ । उक्त अडियो रेकर्डमा भएको संवाद म र महमद हासिम अंसारीबीच फोन सम्पर्क हुँदा भएको संवाद हो ।
उक्त संवाद महमद हासिम अंसारीले निजको मोबाईल फोनमा रेकर्ड गरेको हुनु पर्छ । उक्त संवादमा मैले महमद हासिम अंसारीलाई “हिजो १ जना मान्छेले सम्पर्क गरेको, कोही छ भने सम्पर्क गर्नू, पैसा कमाउन चाहन्छ भने ५ रन भित्र आउट हुनु पर्छ, ४ लाख रुपैयाँ दिन्छ, तिमि आफै गर्छौ भने गर्दा हुन्छ, ५ रन भित्र आउट हुनु पर्छ, ४ लाख रुपैयाँ पाउँछ” भनी प्रस्ताव राखेको थिएँ । रवि माझीले मलाई भने बमोजिम मैले उक्त प्रस्ताव महमद हासिम अंसारीलाई राखी दिएको थिएँ। सो प्रस्तावको जवाफ एक छिनमा दिन्छु भनी महमद हासिम अंसारीले भनेका थिए । निजहरुले तत्काल उक्त प्रस्वावलाई स्वीकार नगरेको कारण उक्त रकम भुक्तान भएको छैन । म. आरीफ शेख र महमद हासिम अंसारी बाहेक अन्य कोही कसैलाई खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने, बाजी जिताउने वा हराउने उद्देश्यले प्रस्ताव गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया