रुस–युक्रेन युद्ध शुरु भएको एक वर्ष पूरा भएको छ । गत वर्ष २४ फेब्रुअरी २०२२ मा दुई देशबीच शुरु भएको युद्ध अझै जारी छ । दुवै देश पछि हट्न तयार नहुँदा यसबीचमा दुवै पक्षका तीन लाखभन्दा बढीको मृत्यु भएको एक प्रतिवेदनले जनाएको छ ।
२०२२ फेब्रुअरी २४ को रात रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध सैन्य कारबाहीको घोषणा गरेका थिए । त्यसको केही घण्टापछि अचानक युक्रेनको राजधानी किभ र आसपासका शहरमा हवाई आक्रमण थालियो । रुसको यो आक्रमणले विश्वमा हलचल मच्चाएको थियो । युक्रेनलाई समर्थन गर्न नाटो सदस्य राष्ट्रहरू खडा भए । अमेरिका, बेलायत, पोल्याण्ड, फ्रान्सलगायत धेरै देशले युक्रेनलाई युद्धभन्दा बाहिर रहेरै सहयोग गरे ।
एक वर्षमा तीन लाखभन्दा बढीको मृत्यु भएको अनुमान लगाइए पनि रुस–युक्रेन युद्धमा कति मानिस मारिए भन्ने यकिन तथ्यांक भने छैन ।
नर्वे रक्षा प्रमुखको प्रतिवेदन अनुसार २२ जनवरी २०२३ सम्म यस युद्धमा युक्रेनका तीस हजारभन्दा बढी मानिस मारिएका छन् । एक लाख २० हजारभन्दा बढी युक्रेनी सैनिकले ज्यान गुमाएका छन् । सबै रिपोर्टले युक्रेनमा भन्दा बढी रुसी सैनिकको मृत्यु भएको दाबी गरेको छ ।
अमेरिकी तथ्याङ्कका अनुसार २४ फेब्रुअरी २०२२ देखि १६ फेब्रुअरी २०२३ सम्म युक्रेनमा दुई लाखभन्दा बढी रुसी सैनिक मारिएका छन् । यसबाहेक रुसलाई समर्थन गर्ने सात हजारभन्दा बढी युक्रेनी पृथकतावादी पनि मारिएका छन् । दुवै पक्षबाट दुई लाखभन्दा बढी सैनिक र सर्वसाधारण बेपत्ता छन् । रुस–युक्रेन युद्धका कारण ४४ विदेशीको पनि मृत्यु भएको छ । युद्धमा ग्रीसका सबैभन्दा बढी १२ नागरिक, अरबैजानका आठ नागरिक र भारतका एक जनाले ज्यान गुमाएका छन् ।
रुसले युक्रेनको कति भू-भाग कब्जा गर्न सक्यो ?
रुसले अहिलेसम्म युक्रेनको मारियुपोल, डोनेस्क, खेरसन, लुहान्स्कलाई पूर्ण रूपमा कब्जामा लिएको छ । युद्धपछि, रूसले माइकोलाइभ र खार्किव पनि कब्जा गर्यो । तर, पछि युक्रेनी सेनाले रुसलाई जबाफी आक्रमण गरेर कब्जा भएका माइकोलाइभ र खार्किवलाई फिर्ता ल्याएको छ । रुस र युक्रेनबीच अझै पनि धेरै राज्यमा आक्रामक युद्ध जारी छ ।
युक्रेनलाई सहयोग गर्न धेरै देशले बढाए हात
रुसले गरेको आक्रमणको विरोधमा अमेरिकालगायत विश्वका धेरै देश युक्रेनको साथमा उभिएका छन् । हाल युक्रेनले विश्वका ८० भन्दा बढी देशबाट विभिन्न माध्यमबाट सहयोग पाइरहेको छ । यीमध्ये ३१ देशले युक्रेनलाई हतियार र मिसाइल दिइरहेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन सोमबार नै युक्रेन पुगेका थिए । त्यहाँ उनले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग भेट गर्दै सहयताको बचन दिए । यसबाहेक बेलायत, फ्रान्सलगायत धेरै देशका राष्ट्रपति र राष्ट्रप्रमुखले पनि युक्रेनको भ्रमण गरेका छन् ।
युक्रेनलाई कुन देशले कस्तो सहयोग गरिरहेको छ ?
एक रिपोर्टका अनुसार अहिलेसम्म अमेरिकाले युक्रेनलाई एक हजार मिलियन अमेरिकी डलर बराबरको हतियार दिएको छ । यसबाहेक युरोपेली संघले एक हजार मिलियन अमेरिकी डलरको सहायता दिएको छ । युक्रेनलाई बेलायत, फ्रान्स, नेदरल्याण्ड, जर्मनीलगायत धेरै देशले हतियार आपूर्ति गरिरहेका छन् । अमेरिकी रिपोर्टका अनुसार सन् २०१४ देखि अमेरिकाले युक्रेनमा रक्षा स्रोतहरू सुदृढ गर्न ३०।४ बिलियन डलरभन्दा बढी खर्च गरेको छ । सन् २०१४ मा पनि रुसले युक्रेनमा आक्रमण गरेको थियो ।
सीएनएनको रिपोर्ट अनुसार जो बाइडेनले किभ भ्रमणका क्रममा युक्रेनलाई ५० करोड डलरको थप सैन्य सहायता घोषणा गरेका छन् । ‘द कन्भर्सेसन’ को रिपोर्ट अनुसार अमेरिकाले युक्रेनलाई १० करोडभन्दा बढी रुपैयाँ पर्ने राउण्ड गोला बारूद पनि दिएको छ । यसमा राइफल, तोप, ह्यान्डगन समावेश छन् । यसबाहेक युक्रेनले क्यानडा, ग्रीस, लिथुआनिया, नेदरल्याण्ड, पोल्याण्ड, पोर्चुगल, रोमानिया, स्लोभेनियालगायत देशबाट पनि यस्ता हतियार प्राप्त गरिरहेको छ ।
युद्धले अन्य देशहरूमा कस्तो प्रभाव पारेको छ ?
युद्ध शुरु भएको केही दिनपछि अन्तर्राष्ट्रिय बजारमा वस्तुहरुको मूल्य आकाशिएको थियो । कच्चा तेल प्रतिब्यारेल १४० डलरको नजिक पुगेको छ, जुन २००८ पछि कच्चा तेलको मूल्यको उच्चतम स्तर हो । ग्यासदेखि स्टिल, आल्मुनियमसम्म सबै वस्तुको मूल्यले आकाश छुन थालेको छ । यसको असर विश्व अर्थतन्त्रमा देखिएको छ । युद्धका कारण आपूर्ति श्रृंखला पूर्ण रूपमा अवरुद्ध भएको थियो । युक्रेनमा आक्रमण गरेपछि रुसलाई आर्थिक रूपमा नोक्सान पुर्याउन अमेरिका र युरोपेली देशहरूले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका थिए । जुन अद्यापि कायमै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया