नेप्सेको ओरालो यात्राको असर : एक वर्षमा २४ अर्ब ८३ करोडले घट्यो सेयर धितो कर्जा

लोकपथ
77
Shares

काठमाडौं । नेप्से सुचकांक निरन्तर घट्दा यसको असर बैंक तथा फाईनान्स कम्पनीहरुले सेयर धितो राखेर दिने कर्जा अर्थात मार्जिन लेण्डिङ लोनमा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा सेयर धितो कर्जा गत आवको सोही अवधिको तुलनामा २४ अर्ब ८३ करोड रुपैंयाँले घटेको छ ।

नेप्से सुचक २०७८ पुसमा २८ सय ५७ अंकमा कायम रहेको थियो । नेप्सेले यो कायम गर्दा बैंक तथा फाईनान्स कम्पनीहरुले सेयर धितो लिएर ९९ अर्ब ७० करोड २० लाख रुपैंयाँ कर्जा दिएका थिए ।

तर चालु आवको पछिल्लो छ महिना अर्थात २०७९ पुसमा नेप्से सुचकाँक घटेर २१ सय ४९ अंकमा खुम्चिएको छ । यस अवधिमा भने बैंक तथा फाईनान्स कम्पनीहरुले जम्मा ७४ अर्ब ८७ करोड २० लाख रुपैंयाँ कर्जा दिएका छन् । बैंक तथा फाईनान्स कम्पनीहरुले सेयर धितो शिर्षकमा दिएको यो कर्जा गत आवको सोही अवधिको तुलनामा २४ अर्ब ८३ करोड रुपैंयाँले कम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

सेयर बजार ओरालो लाग्दा बाँणिज्य बैंकहरुले दिने सेयर धितो कर्जा निकै नै घटेको छ । राष्ट्र बैंकका अनुसार गत आवको पुस मसान्तमा सञ्चालनमा रहेका २७ वटा बाँणिज्य बैंकहरुले सेयर धितो शिर्षकमा मात्र ८३ अर्ब ७० करोड ५० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका थिए । तर अहिले बाँणिज्य बैंकहरुले यस्तो कर्जा घटाएर ५८ अर्ब ४० करोड ५० लाख रुपैंयाँमा सिमित राखेका छन् । बाँणिज्य बैंकहरुले सेयर धितो कर्जा घटाउँदा बिकास बैंकहरुले भने बढाएका छन् । गत आवको पुस मसान्तमा बिकास बैंकहरुले सेयर धितो लिएर १२ अर्ब १९ करोड ४० लाख रुपैंयाँ कर्जा दिएका थिए । चालु आवको पुस मसान्तमा भने बिकास बैंकहरुले यस्तो कर्जा बढाएर १२ अर्ब ६६ करोड ९० लाख रुपैंयाँ पुर्याएका छन् ।

राष्ट्र बैंकका अनुसार फाईनान्स कम्पनीहरुले भने २०७८ पुस मसान्तमा सेयर धितो लिएर तीन अर्ब ८० करोड ९० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका थिए । चालु आवको पुस मसान्तमा भने फाईनान्स कम्पनीहरुको यस्तो कर्जा तीन अर्ब ७९ करोड ८० लाख रुपैंयाँमा सिमित भएको छ ।

बिवरण                                       २०७९ पुस मसान्त                    २०७८ पुस मसान्त                    फरक
बाँणिज्य बैंक                                    ५८४०५                                   ८३७०५                                  २५३००
बिकास बैंक                                      १२६६९                                    १२१९५                                  ४७५
फाईनान्स                                          ३७९८                                     ३८०९                                     ११
कुल                                                 ७४८७२                                ९९७०२                               २४८३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?