काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि ११औँ चरणका खेल शुरु हुुँदैछ ।
चार दिनको विश्रामपछि ११औँ चरणका खेल हुन लागेको हो । आज हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले हिमालयन शेर्पा क्लबको सामना गर्दैछ ।
यता अर्को खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र क्लब भिड्दै छ । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् । तेस्रो खेल न्युरोड टिम ‘एनआरटी’ र फ्रेन्ड्स क्लबबीच हल्चोक मैदानमा हुनेछ ।
बिहीवार सशस्त्र प्रहरीको एपिएफ र च्यासल युथ क्लबबीच तथा सङ्कटा क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच खेल हुनेछ । मनाङ र सङ्कटाबीचको खेललाई उपाधि भिडन्तका रुपमा हेरिएको छ । सङ्कटासितको खेल मनाङले जिते दुई खेलअगावै उसले लिगको उपाधि जित्नेछ ।
एघारौँ चरणको अन्तिम खेल शुक्रबार सरस्वती युथ क्लब र त्रिभुवन आर्मीबीच तथा नेपाल पुलिस र थ्रीस्टार क्लबबीच एन्फा मैदान सातदोबाटोमा हुनेछ ।
दशौँ चरणका खेल सकिँदासम्म मनाङ शत प्रतिशत नतिजासहित ३० अङ्कसाथ शीर्ष स्थानमा छ ।
सङ्कटा २५ अङ्कसाथ दोस्रो, थ्री स्टार २३ अङ्कसाथ तेस्रो, १८ अङ्कका साथ त्रिभुवन आर्मी चौथो, १६ अङ्कसहित एपिएफ पाँचौँ तथा १५ अङ्कसहित नेपाल पुलिस छैटौँ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया