काठमाडौं । नेपाल शारीरिक सुगठन सङ्घले थाइल्याण्डको चाङमईमा भएको विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई तीन लाखबाट सम्मान गर्ने घोषणा गरेको छ ।
नेपाल बडी बिल्डिङ संघ अध्यक्ष राजेशबाबु श्रेष्ठले महेश्वरलाई सङ्घका तर्फबाट तीन लाख प्रदान गर्ने बताएका हुन् । महेश्वरले सङ्घको मात्रै नभई सिङ्गो देशको नाम उचो बनाएको बनाएको समेत जानकारी दिए ।
महर्जनले थाइल्याण्डको चाङमईमा भएको १० औँ विश्व च्याम्पियनशिपमा स्वर्ण पदक जितेर नेपालको नाम संसारमा चिनाउन सफल भएको भन्दै सङ्घले महर्जनलाई सो सम्मान प्रदान गर्न लागेको हो ।
यता स्वर्ण पदकधारी महर्जनले देशको नाम उच्च स्थानमा राख्न पाउँदा आफू निकै भावुक बनेको बताए । उनले भने, ‘विदेशी भूमिमा एक्लो भएर हर्षका आँशु आएको थियो’ ।
‘अन्तर्राष्ट्रिय मञ्चमा नेपालका लागि पदक जित्न सफल भएको छु, आफूलाई गौरवको महसुस भएको छ’, उनले थपे । साथै बडि बिल्डिङमा धेरै खर्च हुने गरेको बताउँदै महर्जनले प्रतियोगिताका लागि मात्र आफूले आठ/नौ लाख खर्च गरेको समेत जानकारी दिए ।
त्यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव पिताम्बर तिम्सिनाले पदक विजेता खेलाडी महर्जनलाई उचित पुरस्कारले सम्मान गर्ने समेत बताए ।
विश्व च्याम्पियनशिपमा नेपाली बडी बिल्डर विजेता बनेको यो पहिलो पटक हो । यसअघि श्याम श्रेष्ठले रजत पदक जितेका थिए ।
च्याम्पियनशिपको पुरुष ७५ केजीमा महर्जनले भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेका थिए । १२ खेलाडी सहभागी उक्त स्पर्धामा भारत दोस्रो र सिङ्गापुर तेस्रो भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया