प्रभु स्मार्ट फण्डको बिक्री खुल्ला, १० वर्षको अवधिमा दुई सय ५५ प्रतिशत लाभांश बाँड्ने लक्ष्य

लोकपथ
14
Shares

काठमाडौं । प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तरगत दोश्रो योजना प्रभु स्मार्ट फण्डको बिक्री खुल्ला भएको छ । यही फाल्गुण १८ गते बिहिबारदेखि प्रभु स्मार्ट फण्डको बिक्री खुल्ला भएको हो ।

प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड बराबरको ८ करोड इकाई जारी गर्न लागेको हो ।

यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ३५ देखि ९० प्रतिशत सम्म शेयरमा लगानी गर्ने छ अर्थात यो एक इक्विटि ओरिएण्डेड योजना हो ।
निष्काशित कुल आठ करोड इकाई मध्ये कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेडले एक करोड १२ लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले आठ लाख इकाई गरी कूल एक करोड २० लाख ईकाई सुरक्षित गरिएको छ ।

बाँकी छ करोड ८० लाख इकाईका लागि सर्वसाधरणले फाल्गुण १८ गतेबाट आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा इच्छुक लगानीकर्ताले छिटोमा फाल्गुण २३ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा चैत्र ०३ गतेसम्म इकाई बिक्री खुला रहने क्यापिटलले बताएको छ ।

नेपालको शेयरबजारमा धेरै सेक्टरका शेयरहरु सूचीकृत भई कारोबारमा रहेका छन् । त्यसमध्येका कम्पनीको व्यवसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तिय अवस्था सवल भएको कम्पनीहरु छनौट गरी ती मध्ये उत्कृष्ट कम्पनीहरुको शेयरमा लगानी गरी नियमित खरिद बिक्री गर्ने भएकाले यो योजनाको नाम प्रभु स्मार्ट फण्ड राखिएको छ ।

प्रभु स्मार्ट फण्ड कस्तो योजना हो ?

प्रभु स्मार्ट फण्ड एउटा इक्विटी लक्षित बन्दमुखी सामुहिक लगानी योजना हो । प्रभु स्मार्ट फण्डको अवधि १० वर्षको रहेको छ । फण्डबाट संकलन भएको रकम इक्विटी र निश्चित प्रतिफल प्रदान गर्ने वित्तिय औजार अर्थात फिक्स्ड इनकम इन्स्ट्रुमेन्टमा सन्तुलन गरी लगानी गर्ने योजना रहेको छ । फण्डले लगानी गरेपछि १० वर्षको अवधिमा करिब २५५ प्रतिशतसम्म प्रतिफल दिने योजना रहेको छ । यसका लागि बजारमा हुने उतारचढावलाई अवसरको रुपमा लिई सन्तुलन ढंगले लगानी गरी यस फण्डका युनिट होल्डरहरुलाई उच्चतम प्रतिफल दिने प्रयास गरिनेछ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?