९ खर्ब १९ अर्बको आयात हुँदा ९३ अर्बको निर्यात, ८ खर्ब २५ अर्बको व्यापार घाटा

लोकपथ
63
Shares

काठमाडौं । नेपालको कुल वस्तु तथा सेवा आयात र निर्यातको बिचमा उच्च असन्तुलन देखिएको छ । नेपाल राष्ट्र बैंकले आज आईतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी चालु आर्थिक बर्षको पछिल्लो सात महिनाको प्रतिवेदन अनुसार आयात र निर्यातको बिचमा उच्च असन्तुलन देखिएको हो ।

प्रतिवेदन अनुसार चालु आवको पछिल्लो सात महिनामा कुल वस्तु आयात १९ दशमलव नौं प्रतिशतले कमी आई नौं खर्ब १९ अर्ब १७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२ दशमलव आठ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १८ प्रतिशत, २४ दशमलव तीन प्रतिशत र २२ प्रतिशतले घटेको देखिएको छ । चालु आवको पछिल्लो सात महिनामा कुल वस्तु निर्यात भने २९ प्रतिशतले कमी आई ९३ अर्ब ४३ करोड रुपैयाँ कायम भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८८ दशमलव तीन प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३७ दशमलव सात प्रतिशत र १३ दशमलव चार प्रतिशतले कमी आउँदा अन्य मुलुकतर्फको निर्यात आठ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार चालु आवको सात महिनामा कुल वस्तु व्यापार घाटा भने १८ दशमलव सात प्रतिशतले कमी आई आठ खर्ब २५ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३८ दशमलव चार प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । वस्तुगत आधारमा जिंक सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलैंचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको भएपनि सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात भने घटेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, चाँदी लगायतका वस्तुको आयात घटेको देखिएको छ ।

प्रतिवेदन अनुसार निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव दुई प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव पाँच प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ७१ अर्ब ७८ करोड रुपैंयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब २८ अर्ब १७ करोड बराबरको रहेको थियो ।

चालु आर्थिक बर्षको पछिल्लो सात महिनामा खुद सेवा आय ३८ अर्ब ४५ करोड रुपैंयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५५ अर्ब नौं करोड रुपैंयाँले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय एक सय सात दशमलव चार प्रतिशतले वृद्धि भई ३२ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १५ अर्ब ५४ करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ५६ दशमलव छ प्रतिशतले वृद्धि भई ६२ अर्ब ५७ करोड रुपैंयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ४३ अर्ब ७४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३९ अर्ब ९६ करोड रुपैंयाँ रहेकोमा शिक्षातर्फको व्यय २२ अर्ब ६० करोड रुपैंयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?