फर्केर हेर्दा २०१८ : नेपालसहित विश्व खेलकुदमा के-के भए ?

काठमाडौं । अंग्रेजी वर्ष २०१९ शुरु हुन केही समयमात्र बाँकी छ ।

२०१८ लाई बिदाई गर्दै अंग्रेजी वर्षलाई स्वागत गर्न विश्वभरका मानिसहरु तयारी अवस्थामा छन् । विदेशमा मात्र नभएर अहिले नेपालमा पनि अंग्रेजी वर्षलाई धुमधाम र हर्षोल्लासका साथ मनाइदै आइरहेको छ । 

सन् २०१८ मा नेपाली खेलकुद क्षेत्रले ऐतिहासिक सफलता प्राप्त गर्नुका साथै अविस्मरणीय क्षण पनि बनाएको छ । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै पदक पनि जित्यो ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको नाम उच्च बनाउन यस वर्ष पनि क्रिकेट, फुटबल, शारीरिक सुगठन, प्याराग्लाइडिङ लगायतका केही खेलहरुमात्र अगाडि रहे । टिमका हिसावले मात्र होइन खेलाडीले व्यक्तिगत रुपमा पनि नेपालले अन्तराष्ट्रिय रुपमा निक्कै चर्चा परिचर्चा कमायो ।

यो वर्ष नेपाली क्रिकेट टिमका लागि अविस्मरणीय पल रह्यो । नेपालले ऐतिहासिक सफलतासँगै एक दिवसिय मान्यता पनि हात पा-यो । चार वर्षसम्मको लागि नेपाल वान डे अर्थात एकदिवसीय प्लेइङ राष्ट्र बन्यो । 

जिम्वावेमा सम्पन्न भएको विश्वकप छनोटमा आठौं स्थानमा रहँदै एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो । भारत, पाकितान, बंगलादेश, श्रीलंका, अफगानिस्तानपछि नेपाल एकदिवसीय मान्यता पाउने छैटो दक्षिण एशियाली राष्ट्र बन्यो ।

एकदिवसीय मान्यता पाएपछि नेपालले तीन वटा अन्तर्राष्ट्रिय वान डे खेल पनि खेल्यो । जसमा दुईमा हार र एक खेलमा जीतको नतिजा निकाल्यो । अहिले नयाँ वर्षको शुरुवातमा नै एक दिवसीय मान्यता प्राप्त राष्ट्र संयुक्त अरब इमिरेट्स ‘युएई’सँग वान डे क्रिकेट खेल्ने तयारीमा छ ।

यसवर्ष थुपै राष्ट्रिय तथा मोफसलका घरेलु क्रिकेट प्रतियोगिताहरु पनि सफलतापूर्वक सम्पन्न भयो । त्यसैले यो वर्ष नेपाली क्रिकेटको लागि निक्कै फलदायी भयो । 

यता नेपाली टिमकै सदस्य युवा क्रिकेटर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय लिग खेल्नमा व्यस्त छन् । १८ वर्षे युवा लेग स्पिनर सन्दिपले सन् २०१८ मा क्रिके खेलेरै करोडपति समेत बने ।

अहिले विश्वका नाम चलेका चर्चित क्रिकेटरले पनि सन्दीपको तारिफ गर्छन । चितवनको क्याम्पाचौरबाट शुरु भएको उनको क्रिकेट यात्रा यतिबेला अन्तर्राष्ट्रियस्तरमा लम्बिरहेको छ । सन् २०१८ मा सन्दिप एकपछि अर्को अन्तर्राष्ट्रिय क्रिकेट लिगमा व्यस्तता बढ्दै गइरहेको छ ।

११ महिना अगाडि मात्र सन्दिपले अन्तर्राष्ट्रिय क्रिकेट लिगको यात्रा थालनी गरे । चर्चित क्रिकेट लिग इन्डियन प्रिमियर लिगमा दिल्ली डेरडेभियल्सबाट अन्तर्राष्ट्रिय खेल जीवन शुरु गरे । उक्त प्रतियोगितामा ५ विकेट लिएपछि उनी सबै क्रिकेट मालिकको नजरमा परेका थिए ।

त्यसपछि उनीसामु अन्तर्राष्ट्रिय क्रिकेट खेल्न अफरै अफरको ओइरो लाग्यो । उनले क्यारिवियन प्रिमियर लिग, क्यानेडियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग लगायतका थुपै प्रतियोगितामा सहभागी भए ।

क्रिकेटबाटै नाम र दाम कमाएका सन्दीप अहिले विश्वमा नै चर्चित नेपाली युवा खेलाडीका रुपमा चिनिन्छन् । 

यता नेपाली पुरुष राष्ट्रिय टिमले केही उपलब्धी हासिल गर्न नसकेको अवस्थामा महिला टिमले भने ऐतिहासिक जित हात पा-यो । अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न नसकेको महिला टिमको बलियो प्रतिद्धन्दी भनेकै भारत हो ।

साफ च्याम्पियनसिपको उपविजेतामा सिमित बनेको नेपालले ओलम्पिक छनोटको खेलमा भने भारतलाई बराबरीमा रोक्यो । सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिक्स गेम्सको एशिया रिजनको दोस्रो चरणमा नेपालले आफ्नो स्थान यसै वर्षमात्र सुरक्षित ग-यो ।

छनोट खेलमा पहिलो सहभागिता र त्यसमा पुर्व राष्ट्रिय खेलाडी हरि खड्काको प्रशिक्षणमा रहेको महिला टिमले छनोटको तीन खेलमा नै बराबरी खेल्दै अघिल्लो चरणको यात्रा तय ग-यो । एशियाली छनोटको पहिलो चरणमा भने नेपालले एक खेलमा पनि जीत निकाल्न भने सकेन । तीन खेलमा तीन अंक जोडेको नेपाललाई समुहमा विजेता वा उपविजेता हुने सुनौलो अवसर रहेको भए पनि अन्तिम खेलमा बंगलादेशसँग एक-एक गोलको बराबरी खेलेपछि उत्कृष्ट तेस्रो टिमका रुपमा अर्को चरण प्रवेश ग-यो ।

अब दोस्रो चरणका खेलहरु सन २०१९ को अप्रिल १ देखि ९ तारिखसम्म हुनेछन् । त्यसैलाई मध्यनजरमा राख्दै महिला टिमलाई अहिले विशेष प्रशिक्षण दिइरहेको छ । 

सन् २०१८ नेपाली राष्ट्रिय खेलाडीद्धय डिफेन्डर रोहित चन्द र गोलरक्षक किरण चेम्जोङको लागि निक्कै फलदायी रह्यो । चन्द नेपालमा भन्दा पनि विदेशी भुमि इन्डोनेशियामा बढि चर्चामा आए । इन्डोनेसियाको लिग खेलेका रोहितले यसैवर्ष जीवनमा नै पहिलो पटक ठूलो सफलता हात पारे ।

उनले आफ्नो क्लवलाई लिगको उपाधि जिताउन महत्वपूर्ण भुमिका खेलेको भन्दै उनी उत्कृष्ट खेलाडी समेत बने । 

त्यस्तै गोलरक्षक किरण चेम्जोङले पनि यसै वर्ष माल्दिभ्समा तहल्का मचाए । चेम्जोङले विदेशी भुमिमा उपाधि जितेपनि सबै सार्क क्षेत्रकै थिए । किरणले मल्दिभ्स र भारतको आई लिगको उपाधि जितेका थिए ।

पछिल्लो पटक चेम्जोङ पनि एकपछि अर्को रुपमा विदेशी लिग खेल्नमा व्यस्त छन् । नेपालको राष्ट्रिय टिमका पहिलो रोजाइका गोलकिपर किरणले पनि यो वर्ष विदेशी भुमिमा नेपालको झण्डा निकै फहराए । उनी माल्दिभ्स लिगको उत्कृष्ट गोलकिपर बनेपछि उनको चर्चा झन चुलिएको छ ।

टिसी स्पोर्टसलाई माल्दिभ्सको धिवेही प्रिमियर लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका किरण टीसी स्पोर्ट्स क्लबले यस सिजन उपाधि जित्दा लिगको सर्वोत्कृष्ट गोलकिपर चुनिए ।

किरणको टोलीले लिगको १६ खेलमा १३ जित, १ बराबर र २ हारसहित ४० अंक जोड्दै लिग जितेको थियो । किरणको टोलीले लिग अवधिभर खेलेका १६ जम्मा ५ खेलमा मात्र गोल खाए । किरणले यसअघि पनि भारतके मिन्नरेभा पन्जाबबाट खेल्दै टिमलाइ आई लिग उपाधि पनि जितेका थिए ।

विदेशी लिगमा मात्र होइन किरणले राष्ट्रिय टिमका लागि पनि निकै ठूलो योगदान दिए । 

त्यस्तै सन् २०१८ मा शारीरिक सुगठन खेल पनि एकाएक चर्चाको विषय बन्यो । १५ औँ धर्मश्रीको उपाधि विजेता मिलन सिजापतिको चर्चा सेलाउन नपाउँदै महेश्वर महर्जनले अन्तर्राष्ट्रिय भुमिमा स्वर्ण पदक जित्दै नेपाली खेलकुदमा नयाँ इतिहास नै रचे ।

नेपालमा शारीरिक सुगठन खेल त्यति व्यवसायिक भइसकेको छैन । व्यक्तिगत रुपमा यो खेलमा लागेको खेलाडीहरु पनि आफ्नै व्यक्तिगत खर्चमा प्रतियोगिताहरु खेल्दै आइरहेका छन् । निक्कै खर्चिलो, त्यसमा पनि खानेकुराहरुमा पूर्ण नियन्त्रण गरेर तौलिएर खानुपर्ने खेलमा लाग्न चाहेर पनि धेरैले सक्दैनन् ।

यस्तैमा महेश्वरले थाइल्याण्डको चाङमईमा भएको १० औँ विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै सबैलाई चकित पारे । यसअघि भुटानमा भएको एशियन च्याम्पियनसीपमा पनि उनले स्वर्ण पदक जितेका थिए ।

महेश्वरले ७५ केजी तौल समूहमा स्वर्ण पदक जिते । विश्व च्याम्पियनसीपमा नेपाली बडीबिल्डर विजेता बनेको यो पहिलो पटक हो । यसअघि श्याम श्रेष्ठले रजत पदक जितेका थिए । त्यसैले सन् २०१८ महेश्वरको लागि लाइफको टर्निङ प्वाइन्ट बन्यो । 

यसैवर्ष नेपालले अर्को ऐतिहासिक सफलता पनि हात पा-यो । साहसिक र मनोरञ्जनको रुपमा लिइएको प्याराग्लाइडिङले एशियाली खेलकुदमा रजत पदक जित्यो । पदकको आशा गरिएको खेलहरु तेक्वान्दो, कराँते, उसु लगायतका खेलाडीहरु पहिलो चरणबाटै बाहिरिपछि नेपाल पदकबिहिन बन्ने अवस्थामा थियो ।

 

त्यसैबेला प्याराग्लाइडिङले रजत पदक जित्दै नेपालको लाज बचाएको थियो । एसियाडको ६७ बर्षे इतिहासमा नेपालले दोस्रो रजत पदक जित्दा प्याराग्लाडिङले पहिलो सहभागितामा नै पदक दिलायो ।

प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणमा नेपाल दोस्रो हुँदै रजत पदक जित्न सफल भयो । यसअघि सन् १९९८ मा थाइल्याण्डको बैंककमा तेक्वान्दोकी सविता राजभण्डारीले तेक्वान्दोमा रजत जितेकी थिइन । त्यसपछिका १६ संस्करणमा सहभागिता जनाउदा नेपालले कास्य पदक मात्र जितेको छ ।

नेपाली टिममा युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापाको टिमले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई ऐतिहासिक पदक दिलाए । 

त्यस्तै विश्वस्तरमा सबै भन्दा ठूलो मानिने विश्वकप फुटबल पनि यसै वर्ष सञ्चालन भयो । शीतकालीन ओलम्पिक्स, एशियाली खेलकुद तथा कमनवेल्थ गेम्स पनि सन् २०१८ मा नै सम्पन्न भए । 

विश्व खेलकुदले सन् २०१८ लाई विश्वकप फुटबललाई सधै सम्झिनेछ । विश्वको सबैभन्दा लोकप्रिय खेल हो, फुटबल । त्यसको पनि सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप । यसपटकको विश्वकप रुसले आयोजना गरेको थियो ।

पहिलो पटक रुसमा आयोजना भएको यो प्रतियोगिताको उपाधि दोस्रो पटक फ्रान्सले जित्यो । फाइनल खेलमा क्रोशियालाई ४-२ गोल अन्तरले हराउँदै फ्रान्सले २१ औँ संस्करणको उपाधि जितेको थियो । रुसले विश्वकपको सफलतापूवर्क सम्पन्न गर्दा विश्व नै चकित बनेको थियो ।

यो प्रतियोगिताको जुलाई १४ बाट शुरु भएको जुन १५ मा सकिएको थियो । त्यस्तै जनसंख्या र क्षेत्रफल दुवैका आधारमा निकै सानो देश क्रोएसियाका लागि फाइनल यात्रा पनि आफैमा अद्वितीय रह्यो ।

फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जितेको थियो भने समग्रमा युरोपले लगातार चौथो पटक । कुल ३२ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा क्रोशियाका लुका मोडरिच उत्कृष्ट खेलाडी तथा फ्रान्सकै केलियन एमबाप्पे युवा खेलाडी चुनिए । 

यता यसैवर्ष १८ औं संस्करणको एशियाली खेलकुद पनि सफलपूर्वक सम्पन्न भयो । एशियाडको सम्पूर्ण खेलहरु जाकार्ता र पालेबाङमा भएको थियो । एशियाली खेलकुद दुई फरक सहरले आयोजना गरेको यो पहिलो अवसर हो ।

अगस्टको १८ देखि सेप्टेम्बर २ सम्म आयोजित प्रतियोगिता एशियाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता हो र स्वभाविक रुपमा यसमा एशियाली देशहरुको ठूलो रूचि थियो । कुल ४५ देशको सहभागिता रहेको प्रतियोगितामा ११ हजार ७ सय २० खेलाडीको सहभागि थिए ।

यसवर्षको एशियाड खेलकुदमा ४० वटा खेललाई समावेश गरिएको थियो । चीनले यो प्रतियोगितामा लगातार दसौं पटक सर्वाधिक पदक जित्यो ।

चीनले १ सय ३२ स्वर्णसहित २ सय ८९ पदक जितेको थियो । त्यसपछि जापान र दक्षिण कोरिया क्रमश दोस्रो र तेस्रो स्थानमा रहे । पदक तालिकामा आयोजक इन्डोनेसिया चौथो स्थानमा रहे । भारतले १५ स्वर्णसहित आठौं स्थान रहेको थियो ।

 सन् २०१८ शीतकालिन ओलम्पिक्स पनि सफलतापूर्वक सम्पन्न भयो । विश्व खेलकुदमा गृष्मकालीन ओलम्पिक्सको चर्चा निक्कै छ । तर, शीतकालीन ओलम्पिक्सको चर्चा त्यति हुँदैन । यो वर्षको शीतकालीन ओलम्पिक्सको २३ औं संस्करण दक्षिण कोरियाली सहर, प्योङचाङले आयोजना भयो ।

यो प्रतियोगिता गत फेब्रअरी ९ बाट शुरु भएर २५ मा सम्पन्न भएको थियो । यो प्रतियोगितामा कुल ९२ देश सहभागी थिए । जसमा २ हजार ९ सय २२ खेलाडीहरु सहभागि थिए ।  नर्वे कुल २९ पदकसहित पहिलो भएको थियो । 

यता विश्व खेलकुदमा कमनवेल्थ गेम्सलाई पनि निकै ठूलो खेल महोत्सवका रूपमा लिइदै आइरहेको छ । कमनवेल्थ गेम्सको २१ औं संस्करण अस्ट्रेलियाको गोल्डकोस्टमा आयोजनन भएको थियो । ७१ देशका ४ हजार ४ सय २६ सहभागी खेलाडीले कुल १९ खेलमा प्रतिस्पर्धा गरेको थियो ।

गत अप्रिलको ४ देखि १५ सम्म चलेको यो प्रतियोगितामा कुल ८० स्वर्ण पदकसहित १ सय ९८ पदक जित्दै अस्ट्रेलिया पहिलो भए । त्यस्तै बेलायत दोस्रो तथा भारत तेस्रो भयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?