‘ए’ डिभिजन लिग : उपविजेता बन्ने होडमा संकटा र थ्रीस्टार भिड्दै

काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज संकटा क्लबले थ्रीस्टार क्लबको सामना गर्दैछ । 

यी दुई क्लबबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो साढे २ बजेपछि शुरु हुँदैछ । यसअघि नै लिगको उपाधि मनाङ् मस्याङ्दी क्लबले जितिसकेपनि आज हुने थ्रीस्टार र संकटाबीचको खेलले दोस्रो स्थानको निर्धारण गर्नेछ ।

थ्रीस्टार संकटालाई पराजित गर्दै लिगको दोस्रो  स्थानमा रहने मनोस्थितीका साथ मैदानमा उत्रदैछ । अंक तालिकामा संकटा २५ अंकसहित दोस्रो स्थानमा छ । यता थ्रीस्टार २३ अंकका साथ तेस्रो स्थानमा छ ।

जारी लिगको उपविजेता बन्न थ्रीस्टारलाई आजको खेल जित्नै पर्ने दवाव रहेको छ । त्यस्तै आजै हल्चोकस्थित एपिएफको मैदानमा मनाङ मस्याङदी क्लबले हिमालयन शेर्पा क्लबको सामना गर्दैछ।

यसअघि नै लिगको उपाधि जितिसकेको मनाङ ऐतिहासिक कीर्तिमान बनाउने दाउमा रहेको छ । मनाङले अहिलेसम्म अपराजित रहँदै ३३ अंक बनाएको छ । शेर्पा क्लब भने लिगको छैटो स्थानमा छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?