एजेन्सी । जारी इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा म्यान्चेस्टर युनाइटेडले लगातार चौथो जीत निकालेको छ ।
बुधवार राति सम्पन्न भएको २१ औँ चरणको खेलमा म्यान्चेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए ।
खेलको ६४ औँ मिनेटमा रोमेलु लुकाकुले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । उनी वैकल्पिक खेलाडीको रुपमा मैदानमा प्रवेश गरेका थिए । त्यस्तै ८० औँ मिनेटमा मार्कोस रासफोर्डले गोल गरे ।
निर्धारित समयसम्म न्युक्यासलले पनि खेलमा फर्कने प्रयास गरेपनि सफल भने हुन सकेन र खेलमा २-० को हार बेहोर्यो । जीतपछि म्यान्चेस्टर युनाइटेड ३८ अंकका साथ लिगको छैटो स्थानमा उक्लिएको छ । गुनर सोल्सायर नयाँ प्रशिक्षकका रुपमा युनाइटेडमा आएसँगै चार खेलमा जीत हात पारेको हो ।
त्यस्तै बुधवार राति नै भएको चेल्सी र साउथह्याम्पटनबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ । रेलिगेनसन जोनमा रहेको साउथह्याम्पटनले लिगको चौथो स्थानमा रहेको चेल्सीलाई निक्कै कडा चुनौती दिदै खेलमा बराबरी ग-यो ।
बराबरीपछि दुवै क्लबले समान एक-एक अंक बाडेका छन् । चेल्सीले ४४ अंक बनाएको छ भने साउथह्याम्पटनको १६ अंक छ । बुधवार राति नै भएको अर्को खेलमा बर्नलेले हडल्र्सफिल्डलाई २-१ गोल अन्तरले तथा क्रिस्टल प्यालेसले उल्भ्सलाई २-० गोल अन्तरले हरायो ।
बर्नेमाउथ र वाटफोर्डबीचको खेल ३-३ गोलको बराबरीमा सकिएको छ । वेस्टह्याम र ब्राइटटनबीचको खेल पनि २-२ गोलको बराबरीमा सकिएको छ ।
अहिलेसम्म ५४ अंकका साथ लिभरपुल लिगको शीर्ष स्थानमा छ । ४८ अंकका साथ टोट्नह्याम दोस्रो तथा ४७ अंकका साथ म्यान्चेस्ट सिटी तेस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया