काठमाडौं । मुम्बई प्रहरीले स्वीडेनका एक हवाई यात्रुलाई पक्राउ गरेको छ । उक्त स्वीडीस यात्रु कालास एरिक हाराल्ड जोनास वेस्टबर्गले मादक पदार्थ सेवन गरी इन्डिगोको फ्लाइटमा एयर होस्टेससँग दुर्व्यवहार गरेको आरोप छ ।
आरोपी यात्रुले सहयात्रीसँग झगडा पनि गरेका छन् । उक्त घटना बैंककबाट मुम्बईको लागि इन्डिगो एयरलाइन्सको उडानमा भएको थियो।
विमानमा भएको के थियो ?
आरोपित यात्रुले उडानका क्रममा खाना मागे तर एयर होस्टेसले विमानमा खाना सकिएको बताइन्। यात्रुले आग्रह गर्दा उनको लागि चिकेनको परिकारको व्यवस्था गरिएको थियो । एयर होस्टेसले पैसा लिन पीओएस मेसिन लिएर जाँदा यात्रुले गलत तरिकाले एयर होस्टेसको हात समातेको आरोप छ । एयरहोस्टेसले यसको आपत्ति गरेपछि आरोपी यात्रुले हंगामा शुरु गरेका थिए ।
उक्त यात्रुले कर्मचारीलाई गाली गर्नुका साथै अन्य यात्रुसँग झगडा पनि गरेका थिए । त्यसपछि उनीमाथि उजुरी गरिएको थियो । प्रहरीले आरोपी यात्रुलाई विमान मुम्बई पुगेपछि पक्राउ गरेको थियो ।
पछिल्लो समय यस्ता धेरै घटनाहरु बाहिर आएका छन् । भारतमा पछिल्लो तीन महिनामा उडानमा अवरोध गरेको आरोपमा आठ जना हवाई यात्रुलाई पक्राउ गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया