ढाकाको बंगाबजारमा भीषण आगलागी, ४७ वटा दमकलले आगो निभाउदैँ

लोकपथ
105
Shares

काठमाडौं । बंगलादेशको राजधानी ढाकाको बंगाबजारमा भीषण आगलागी भएको छ । ढाकाको सबैभन्दा ठूलो कपडा बजारमा ६ हजारभन्दा बढी कपडा पसल रहेका छन् ।

अहिलेसम्म दुई दर्जनभन्दा बढी पसल जलेर नष्ट भएको बताइएको छ । सेना र वायुसेनाले राहत र उद्धारका लागि कमाण्ड लिएका छन् । अहिलेसम्म कुनै मानवीय हताहतीको खबर भने बाहिरिएको छैन ।

राजधानी ढाकाको प्रसिद्ध कपडा बजारमा आज बिहान ६ः१५ बजे आगलागी भएको हो । आगलागीले केही बेरमै ठूलो रुप लियो । ४७ वटा दमकलले आगो निभाउने काम गरिरहेको छ । आगलागीको कारण भने अझै खुल्न सकेको छैन ।

हालसम्म आगो नियन्त्रणमा आउन सकेको छैन । ढाका ट्रिब्युनको रिपोर्टका अनुसार दमकल विभागका अधिकारीहरूले आफूसँग आगो नियन्त्रण गर्न पर्याप्त पानी नभएको बताएका छन्। अहिले पानीको वैकल्पिक स्रोतका रूपमा नजिकैका भवनबाट पानी लिइएको दमकल अधिकारीहरूले बताएका छन् ।

बीडी न्यूजका अनुसार आगो नियन्त्रण र उद्धारका लागि सेना र वायुसेनाले कमाण्ड लिएको छ । आगो नियन्त्रणमा लिन आकाशबाट पानी छर्किएको छ । आगलागीका कारण पुरै क्षेत्रमा धुवाँको मुस्लो निस्किरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?