काठमाडौं । बैंकिङ क्षेत्रमा औषत सिडी रेसियो अर्थात कर्जा निक्षेप अनुपात ८५ दशमलव ४३ प्रतिशत कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले पछिल्लो पटक यही चैत २२ गते अधावधिक गरेको प्रतिवेदन अनुसार बैंक तथा फाईनान्स कम्पनीहरुले औषतमा उक्त अनुपातमा कर्जा निक्षेप अनुपात कायम गरेका हुन् ।
यस अवधिमा सञ्चालनमा रहेका ६४ वटा लघुवित्त वित्तीय संस्था बाहेकका २२ वटा वाणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाईनान्स कम्पनीहरुले संकलन गरेको कुल निक्षेप रकम भने ५४ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ । उक्त निक्षेप मध्ये वाणिज्य बैंकहरुमा मात्र ४७ खर्ब ९५ अर्ब र बिकास बैंक र फाईनान्स कम्पनीहरुमा छ खर्ब ४१ अर्ब रुपैंयाँ निक्षेप रहेको राष्ट्र बैंकको भनाई छ ।
बैंकिङ क्षेत्रमा कायम रहेको कुल कर्जा रकम भने पछिल्लो अवधिमा ४८ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । उक्त कर्जा मध्ये वाणिज्य बैंकहरुले मात्र ४२ खर्ब ७९ अर्ब र विकास बैंक र फाईनान्स कम्पनीहरुले पाँच खर्ब ४५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यस अवधिमा लघुवित्त वित्तीय संस्था बाहेकको बैंक तथा फाईनान्स कम्पनीहरुको कुल शाखा संख्या भने छ हजार चार सय ३७ वटा पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको देशभर पाँच हजार २९, बिकास बैंकहरुको एक हजार एक सय २८ र फाईनान्स कम्पनीहरुको दुई सय ८० वटा शाखाहरु सञ्चालनमा रहेको राष्ट्र बैंकको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया