लिग च्याम्पियन मनाङले अन्तिम खेलमा फ्रेण्ड्सको सामना गर्दै

काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत मनाङ मस्याङ्दी क्लबले आज ‘मंगलवार’ अन्तिम खेल खेल्दैछ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज हुने अन्तिम खेलमा मनाङले फ्रेन्ड्स क्लबको सामना गर्दैछ । दुई खेल खेल्नु अगावै लिगको उपाधि जितिसकेको मनाङ फ्रेण्ड्स क्लबलाई हराउने रणनीतिका साथ मैदानमा उत्रदैछ ।

फ्रेन्ड्सविरुद्धको खेलमा भने जीत हात पारे मनाङ शतप्रतिशत नतिजासहित उपाधि जित्नुका साथै कीर्तिमान समेत बनाउनेछ । १२ औँ चरणको खेलसम्म मनाङ अपराजित छ ।

 यता मनाङका प्रशिक्षक सुमन श्रेष्ठले शतप्रतिशत जीत निकाल्ने मनोस्थितीका साथ आज खेल खेल्ने बताए । मनाङ मस्याङ्दी ३६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । ९ अंक मात्र बनाएको फ्रेण्ड्स भने लिगको १२ औँ स्थानमा रहेको छ । 

त्यस्तै आजै हुने अर्को खेलमा न्युरोड टिम ‘एनआरटी’ले ब्रिगेट व्वाइजसँग प्रतिस्पर्धा गर्दैछ । 

लिग च्याम्पियन मनाङले ५० लाख रुपैयाँ पाउनेछ । यता दोस्रो स्थान सुरक्षित गरेको संकटाले ३५ लाख, तेस्रो भएको थ्रीस्टारले २५ लाख, चौथो भएको त्रिभुवन आर्मीले १५ लाख, पाँचौ भएको एपीएफले ७ लाख र छैटौं भएको नेपाल पुलिसले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

त्यस्तै व्यक्तिगततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले एक-एक थान मोटरसाइकल पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?