राष्ट्रिय महिला भलिबल : क्वार्टरफाइनलमा न्यू डायमण्डले आर्मीको सामना गर्दै

काठमाडौं । न्यु डायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आयोजक न्यु डायमण्ड र आर्मी क्लबबीच क्वाटरफाईनलमा प्रतिस्पर्धा हुँदैछ । 

न्यू डायमण्ड एकेडेमीको कोर्टमा बुधवार भएको उद्घाटन खेलमा न्यू डायमण्डले चितवन टाइग्रेसलाई २५–१३, २५–१८ र २५–११ को सेटमा पराजित गर्दै विजयी भएको हो ।

त्यस्तै दोस्रो खेलमा नेपाल पुलिस क्लबले नेपाल आर्मी क्लबलाई २५–२१,२५–२१ र २५–१८ को सोझो सेटमा हरायो । न्यू डायमण्ड समूह ‘ए’को विजेता हुँदै समूह ‘सी’को उपविजेता आर्मीसँग क्वार्टर फाइनलमा भिड्ने पक्का भएको छ । 

यता अर्को खेलमा सशस्त्र प्रहरी बल ‘एपिएफ’ पनि विजयी भएको छ । एपिएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–५,२५–१० र २५–८ को सोझो सेटमा हरायो । चारदिने उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले गरेका थिए । 

यो प्रतियोगिताको विजेताले तीन लाख एक हजार तथा उपविजेताले दुई लाख एक हजार प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुने टोलीले एक लाख एक हजार र चौथोले ५१ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार तथा व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीले जनही रु पाँच–पाँच हजार प्राप्त गर्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?