मुना घिमिरे, ३९, अहिले सडक विभाग अन्तर्गत हेभी इक्युप्मेन्ट डिभिजनमा कार्यरत छिन् । सरकारी जागिर त्यसमा पनि आफ्नै रुचिको फिल्डमा काम गर्न पाउँदा उनी खुसी छिन् । यो खुसी सञ्चित गर्न उनलाई धेरै वर्ष लाग्यो । त्यस अवधिमा उनले निसन्देह निकै आरोह अवरोहहरु देखिन् अनि भोगिन् ।
हामी नयाँ बानेश्वरस्थित हेभी इक्युपमेन्ट डिभिजन पुग्दा उनी सरकारी कर्मचारीको पोसाकमा चिटिक्क देखिएकी थिइन् । हेर्दा हेभी इक्युप्मेन्ट अपरेट गर्न सक्छिन् जस्तै नलाग्ने । उनलाई देखेपछि ‘शक्ति शरीरमा होइन दिमागमा हुन्छ’ उनी आफैले भनिरहने यो भनाइ साँच्चै हो जस्तो लाग्यो ।
मुनाले त्यसबेला देखि डोजर, एक्सकाभेटर जस्ता हेभी इक्युपमेन्ट चलाउन शुरु गरिन् जुन बेला महिलाले स्कुटर चलाउनु समेत ठूलो उपलब्धि मानिन्थ्यो ।
आफूमा यो रुचि कसरी पलायो भन्ने थाहा छैन उनलाई तर, दाजुभाइ नहुनु त्यहीकारण समाजले आफ्नो परिवारलाई हेप्नु, ‘ला आमाबुबालाई अब कसले पाल्छ’ भन्ने जस्ता तीखा प्रश्नहरु तेर्सिरहनु आदिले नै आफूलाई समाजको मानसिकतालाई गलत सावित गर्न उत्प्रेरित गरेको उनी बताउँछिन् ।
यो रुचिको विकास कसरी भयो भन्ने प्रश्नमा उनी आफ्नो बाल्यकालको स्मरण गर्छिन् ।
गोर्खाको हार्मी गाविसमा जन्मिएतापनि परिवार बसाइ सरेकाले उनको किशोरावस्था तनहुँको आँबुखैरेनीमा बित्यो । घर नजिकै निर्माण कार्य चलिरहँदा त्यसताका डोजर, एक्स्काभेटरहरु आइराख्थे । अजङ्गका ती मेसिनलाई सानो मान्छेले आफ्नो इशारामा नचाइरहेको देख्दा मुना झन् अचम्ममा पर्थिन् । संयोगवश पछि उनी हेभी इक्युपमेन्ट कम्पनीकै रिसेप्सनिस्टका रुपमा काम गर्ने अवस्था आयो । आफ्नो काम सक्नासाथ मेसिन चलाएको हेर्न मुना फिल्डमा पुग्थिन् । हेभी इक्युपमेन्टप्रतिको उनको लगाव देखेर उनकै बोसले एकदिन प्रश्न राखे ‘चलाउन सिक्छौ त?’ उनले पनि सजिलै जवाफ दिइन् ‘सिकाइदिए त सिक्ने थिएँ’।
बस्, उनको सिकाइ त्यहीँबाट शुरु भयो । करिब १ वर्षमा उनले इक्युपमेन्ट अपरेट गर्न सिकिन् । मुनालाई सिक्न त्यति गाह्रो लागेन जति सिकेको कुरालाई प्रस्तुत गर्ने अवसर पाउन लाग्यो । महिला भएकै कारण हातमा आइसकेका अवसर पनि फुत्केको धेरै घटनाहरु उनलाई याद छ ।
हेभी इक्युपमेन्ट अपरेट गर्ने क्रममा नै उनी नेपालको पूर्व मेची देखि पश्चिम महाकाली हुँदै भारतसम्म पुगेकी छिन् । बर्खाको महिना त झन् ३,४ महिनासम्म घरबाट बाहिर बस्नुपर्ने अवस्था आउँछ । महिनौंसम्म घर बाहिर बस्नुपर्ने उनको यो समस्यालाई श्रीमान् र घरपरिवारले सहज ढङ्गले लिइदिएका छन् । पहाडी भेगमा काम गर्दा कति पटक आफ्नै छेउबाट पहिरो गएको, टाउकोको नजिकैबाट ढुङ्गा झरेको प्रशस्त घटना उनको मस्तिष्कमा ताजै छन् । तर, यस्तै खतरासँग खेल्न उनलाई रमाइलो लाग्छ । मुनाले चुनौतीमा खुसी खोज्न जानिसकिन् । भन्छिन् ‘जीवनमा चुनौती भएन भने के मज्जा ? म त रिस्कमै खुसी भेट्टाउँछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया