‘जनताको चासो गुनासो र प्रश्नसहितको कार्यक्रम…’ भन्दै टेलिभिजन सेटबाट सुनिने आवाज यतिबेला संसदमा पुगेको छ । प्रश्न सोध्ने ठाउँबाट जवाफ दिने ठाउँमा पुगेका रवि लामिछाने र उनी नेतृत्वको दलको चर्चा सर्वत्र छ ।
राजनीतिक दल दर्ता भएको ६ महिनामै पाएको जनविश्वासले नेपालको राजनीतिक कोर्षलाई नै बदलिदियो । मंसिरको निर्वाचनमा २० सिटसहित संसदको चौँथो पार्टी बनेको रास्वपाले १० वैशाखको उपनिर्वाचनमा कांग्रेसको भोट बैंक मानिने क्षेत्रलाई भत्काएर पुनः एक सिट ल्याउँदै २१ सिटसहित संसदमा आफ्नो उपस्थितिलाई झनै दरिलो बनाएको छ ।
कुनैबेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसअघि पनि प्रधानमन्त्री रहेका बेला अन्तर्वार्ताका लागि समय नदिएको भन्दै रास्वपाका सभापति लामिछानेले कुनै दिन प्रधानमन्त्रीले खोज्ने गरी मेहनत गर्ने उद्घोष गरेका थिए । भयो पनि त्यस्तै, अहिले प्रचण्ड रविलाई खोजिरहेका छन् । अन्तर्वार्ता दिनका लागि होइन, सत्ता समिकरणका लागि ।
राजनीतिक नेतृत्वप्रति चरम निराशा रहेका बेला त्यही राजनीतिक पोखरीमा पौडिन पुगेका लामिछानेले छोटै अवधिमा राम्रै हलचल ल्याउन सके । आलोचना धेरै नसहने र हिन्दी चलचित्र ‘नायक’ को अनिल कपुर जस्तै छोटो समयमा विकासको हुन्डरी ल्याउने गरी काम गर्नुपर्ने शैली देखाउने रविका लागि स्थानीय निर्वाचनको परिणाम नै राजनीतिमा प्रवेश गर्ने शुभ संकेतका रुपमा देखा पर्यो ।
स्थानीय निर्वाचन मै राजनीतिक दलप्रतिको वितृष्णा मतमा देखिए पनि अन्य दलले त्यसलाई हल्का रुपमा लिए । स्वयम् रविले पनि यो किसिमको परिणाम आउने आँकलन भने गरेका थिएनन् । तर जुन परिणाम आयो त्यसले प्रष्ट पारिदियो कि जनता साँच्चै दलप्रति निराशामा छन् ।
एकातिर कमजोर जनाधार, भर्खरै दर्ता भएको पार्टी, अनि शून्यमा रहेको पार्टी संगठन । तर, त्यही पार्टीले संगठनमा बल देख्ने राजनीतिक दलहरुको दिमागमा ठूलै घण्टी बजाउन थालेको छ ।
पूरानाप्रतिको विकर्षणका बेला आएको रास्वपाको चुनावी नाराले नयाँ मतदातालाई आकर्षित गर्यो र पूराना मतदाताको मन पनि फेरिदियो । काठमाडौंमा बालेन्द्र शाह, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपाल हमालको जित राजनीतिक दलको दुरावस्थाको संकेत थियो । तर, राजनीतिक दलले त्यसलाई नजरन्दाज गर्दाको परिणाम जनताको मत नयाँ दल र उम्मेदवारतिर सरेको पत्तै पाएनन् ।
दलहरुले टिकट वितरणमा चरम नातावाद र कृपावाद, आर्थिक चलखेल र पूरानै एजेण्डा भजाउने परिपाटीको विरुद्ध आएको मतलाई स्थानीय, प्रदेशदेखि केन्द्रीय निर्वाचनसम्मले देखाएको छ । रास्वपाले पाएको मतमा राजनीतिक दलको तर्क पनि आ–आफ्नै छ । कामभन्दा बढी प्रचार खोज्ने एमाले आफूहरुले कामको प्रचार गर्न नसक्दा रास्वपाले मत पाएको विश्लेषण गरिरहेको छ । जनाधार दिनानुदिन गुमाउँदै गएको माओवादी रास्वपाको परिणामबाट सच्चिने भन्दा पनि उही सशस्त्र युद्धको उपलब्धी संस्थागत गर्ने ध्याउन्नमा देखिन्छ ।
यता उपनिर्वाचनको परिणामपछि सक्किने कि सच्चिने ? प्रश्नको सुई कांग्रेसतिर सोझिएको छ । प्रजातन्त्रको हिमायती सम्झिने कांग्रेसले आफ्नो चरित्र नसुधार्ने हो भने प्रजातान्त्रिक धार बोकेर जन्मिएको अर्को राजनीतिक शक्तिको रुपमा रास्वपा उदाउन सक्ने बहस हुन थालेको छ ।
त्यसो त तलका जनता र मतदातामात्र आजित भएका छैनन् । स्वंय नेतृत्वको कार्यशैलीप्रति राजनीतिमा आकर्षित युवाहरु पनि निराश देखिन्छन् । आफ्नो उर्जाशील समय राजनीतिक संघर्षमा बिताउँदा पनि उचित मूल्यांकन नहुने अवस्थामा अर्को निर्वाचनसम्म रास्वपाले उचित स्थान दिने अवस्था आएमा ठूला दलका नाम चलेका नेताहरु नै त्यतातिर जाने त होइन भन्ने आशंका बढ्न थालेको छ । पूराना दलले आफ्नो कार्यशैली र नेतृत्व हस्तान्तरणशैली नबदल्ने हो भने रुस्टिएका नेता कार्यकर्ताको आक्रोश पोख्ने ‘आश्रय स्थल’ घण्टीघर नबन्ला भन्न सकिन्न ।
निर्वाचनमा रास्वपाकै कारण आफ्नो सांगठनिक मत गुमाएका राजनीतिक दलहरुले नेता व्यवस्थापनमा नलाग्ने हो भने अर्को निर्वाचनसम्म आशा गरिएका नेता नै गुमाउने अवस्था आउने आँकलन गर्न थालिएको छ ।
नेपाली कांग्रेस प्रजातान्त्रिक शक्ति भएर अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रस्तुत हुने गरेको थियो । देशको हरेक गतिविधिमा अन्तर्राष्ट्रिय मन्चहरुले पनि कांग्रेसको धारणा खोजिरहन्थ्यो । तर वैकल्पिक शक्तिका रुपमा उदाएको अर्को प्रजातान्त्रिक धारको दलले धक्का दिएपछि अन्तर्राष्ट्रिय रुपमै कांग्रेसमाथि प्रश्न उठ्ने त होइन भन्ने राजनीतिक विश्लेषक डा. विष्णु दाहाल बताउँछन् ।
‘देश र समाजले खोजेको गति स्थापित राजनीतिक दलले दिन नसकेका कारण वैकल्पिक शक्तिमा मत ट्रान्सफर हुँदै गएको छ,’ उनले भने, ‘राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र क्षयीकरण हुँदै गएको र दलले जनताको एजेण्डा नबोकेको कारण रास्वपाको अस्वभाविक मत आएको मेरो बुझाई छ ।’
देश र समाज एकातिर र दलहरु आफ्नो सिन्डिकेटतिर लाग्दा आममानिसमा वितृष्णा फैलिएको उनको भनाई छ । ‘दलहरु राष्ट्रिय चिन्तन, एजेण्डा, जनता र देशका पक्षमा कुनैपनि छलफल गर्दैनन् जसले जनतामा आक्रोश निम्त्याएको छ,’ विश्लेषक दाहाल भन्दै थिए, ‘त्यसैको परिणामस्वरुप दलका कार्यकर्ताले नै अर्को दललाई वैकल्पिक शक्तिको रुपमा मत हाले ।’
पार्टीभित्रको लोकतन्त्र कमजोर हुनु र राजनीतिक दलले जनताको एजेण्डा नबोक्नुले रास्वपाको अस्वभाविक उदय भएको उनको ठम्याइ छ ।
राजनीतिक सत्ता समीकरणको फेरबदल र दलहरुको अस्थिर चरित्रको कारण यही जनमतको सरकार र सदन ५ वर्ष टिक्न सक्नेमा शंका गर्न सकिने प्रशस्त ठाउँ रहेको उनको तर्क छ । अहिले राजनीतिक दलले निर्माण गरेको परिस्थितीले देश मध्यावधीको बाटोमा जाने खतरा रहेको र त्यो खतरा नटरेमा त्यसले पूराना दलहरुलाई थप ठूलो क्षती पुर्याउनेमा डा. दाहाल सतर्क गराउँछन् ।
‘५ वर्षसम्म यो जनमत रहन्छ वा रहँदैन भन्ने डर देखिन थालेको छ, यदि मध्यावधीमा गयो भने पूराना दलहरुलाई थप गाह्रो छ,’ डा. दाहाल बताउँछन्, ‘कसरी दलहरुले आफ्नो बाटो तय गर्छन् त्यो मुख्य कुरा छ । आगामी दिनमा दलहरु नसच्चिने हो भने जनताको एजेण्डा नबोक्ने हो भने ५ वर्षपछि पूराना दलहरुलाई ठूलो संकट देखिन्छ ।’
राजनीतिक विश्लेषक मात्रै होइन रास्वपाको मतबाट धक्का खाएका दलका नेताहरु पनि आफ्नो दलको भविष्यप्रति विचार गर्नुपर्ने बेला आएको बताउँछन् । कांग्रेस नेता गुरुराज घिमिरे अहिले आएको मतबाट पार्टी ‘सक्किने कि सच्चिने’ भन्ने बहसबाट पार्टी नेतृत्वको कार्यशैली परिवर्तन गर्नुपर्ने धारणामा अडिग देखिन्छन् ।
लोकपथसँग कुरा गर्दै घिमिरे भन्छन्, ‘रास्वपाले पाएको मतले दूरगामी अर्थ र महत्व राख्छ,’ उनले भने, ‘स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारले जित्ने र प्रदेश र संघको निर्वाचनमा नयाँ राजनीतिक दलको जितलाई कम आँक्न हुँदैन ।’
गत उपनिर्वाचन र त्यसअघिको निर्वाचनमा रास्वपाले प्राप्त गरेको नतिजालाई सामान्य रुपमा लिन नहुने उनको भनाई छ । ‘तीनवटा क्षेत्रको उपनिर्वाचनमध्ये २ स्थानमा नयाँ दललाई नै जनताले पत्याएका छन्,’ उनले भने, ‘स्थानीय चुनावमा पनि स्वतन्त्र उम्मेदवार जित्ने र अरु निर्वाचनमा नयाँ दलको आकर्षणले पूराना दल र तीनका नेताहरुले तीन दशक गरेको कार्यसम्पादनलाई जनताले चित्त बुझाएनन् भन्ने आशय प्रस्ट देखिएको छ,’ घिमिरे भन्छन् ।
पुराना दलप्रति आम कार्यकर्ता पंक्तिको प्रेम र विश्वास रहेपनि नेतृत्वको कार्यशैली चित्त नबुझाएका उनीहरुले मत ट्रान्सफरले ठाडो चुनौती दिएको नेता घिमिरेको बुझाई छ । र, अर्को मुख्यतः गठबन्धनको संस्कृति मन नपराए पनि चित्त नबुझाइ पार्टीको निर्णयप्रति बफादार बन्नुपरेको कारण पनि कार्यकर्तापंक्तिले पार्टी नछोड्ने तर मतको माध्यमबाट घुमाउरो चेतावनी दिएको उनको बुझाई छ ।
‘तल्लो तहमा सांगठनिक संरचना र बलियो भोट हामीसँग छ । र अहिले पनि कार्यकर्ताहरुमा पार्टीप्रतिको प्रेम र निष्ठा बाँकी नै छ,’ उनले भने, ‘असन्तुष्टी भए पनि पार्टी छोड्न सकिरहेका छैनन् । त्यही असन्तुष्टी र नेताहरुलाई सबक सिकाउने अनि कार्यशैलीमा प्रश्न उठाउने प्रयासको रुपमा भोट ट्रान्सफर भइरहेको छ । यो क्रम एक–दुई चुनाव गर्दै गयो भने त पूराना दलहरु आफैँ डाउनसाइज भइहाल्छन् ।’
पुराना राजनीतिक दलहरुले सम्भावना बोकेका अवसर खोजिरहेकाहरुलाई आफ्नो क्षमता प्रस्तुत गर्न नदिएको कारण त्यसको रियाक्सन जनाउनु स्वभाविक रहेको घिमिरेको ठम्याइ छ ।
रास्वपाबाट निर्वाचित सांसद डा. स्वर्णिम वाग्लेतर्फ संकेत गर्दै घिमिरे सम्भावना बोकेका व्यक्तिहरुलाई पार्टीले उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिन्छन् ।
त्यसो त रास्वपाको उदय भन्दा अघि नै आफूहरुले पुस्तान्तरणसहितको नेतृत्व हस्तान्तरणका लागि जोड दिँदै आएको र पार्टी सुदृढिकरणका लागि सामान्य मलम पट्टीले नपुग्ने भन्दै आमुल परिवर्तनको जरुरत रहेको उनी बताउँछन् ।
‘नेतृत्व परिवर्तन गराउनको लागि प्रयास गरेका हौँ । पुस्तान्तरणसहितको नेतृत्व हस्तान्तरण हुनुपर्दछ,’ उनले अघि भने, ‘सामान्य मलम पट्टी गरेर मात्रै हुँदैन । पार्टीमा आमुल सुधार हुनुपर्छ र पार्टीको पहिलो पु्स्ताले विश्राम लिनुपर्छ । हामीले १३ औँ र १४औँ महाधिवेशनमै प्रयास गरेका हाैँ तर सफल भएनौँ ।’
गत निर्वाचनले कांग्रेसलाई मात्रै होइन अर्को दल नेकपा एमालेलाई पनि राम्रै सबक सिकाएको छ । उपनिर्वाचनको तीन वटै क्षेत्रमा पराजय व्यहोरेको एमालेले चासोको साथ अभिव्यक्ति नदिए पनि भित्री रुपमा भने नेतृत्व सच्चिनुपर्ने बहस चल्न थालेको छ ।
एमाले प्रमुख सचेतक पदम गिरी भने रास्वपाको पपुलारिटी भन्दा पनि आफूहरूले कामको प्रचार गर्न नसकेका कारण मत ट्रान्सफरको अवस्था आएको बताउँछन् । पुराना दलहरुप्रति राजनीतिक दलको वितृष्णा बढिरहेको बेला त्यसको फाइदा रास्वपाले लिएको उनको बुझाई छ ।
‘अविकास, पछौटेपन, बेरोजगारी र भ्रष्ट्राचारको कारण देश आर्थिक संकट छ । जसको कारण आमनागरिकमा निराशा छ,’ उनले भने, ‘ती सबै दोष पुराना राजनीतिक दलको कारणले भयो भनेर जनतामा त्यही भाष्य जबरजस्त स्थापित गरिएको छ । जसले गर्दा जनमत अन्य पार्टीमा जाने अवस्था बन्यो ।’
जनतामा समग्र मुलुकको अवस्थाबाट निराशा र असन्तुष्टी रहेको स्वीकार गर्दै राजनीतिक नेतृत्वले त्यसलाई चासोका साथ जनताको भावनालाई बुझेर अबको रणनीतिहरु बनाउनुपर्ने उनको भनाई छ ।
सबै पुराना राजनीतिक दलको कार्यशैली एकै किसिमको नरहेको उल्लेख गर्दै अरु राजनीतिक दलको अकर्मण्यताको दोष पनि एमालेले बोक्नुपरेको उनको टिप्पणी छ । सरकारमा रहँदा एमालेले गरेका कामका बारेमा बुझाउन नसकेको बताउँदै उनले भने, ‘पुराना पार्टी भन्नाले सबै एकै किसिमका थिएनन् । एमाले सरकारमा हुँदा विकास, सुशासन र राष्ट्रिय स्वाधिनताको पक्षमा आफूलाई उभ्याइरहेको थियो । त्यो विषय हामीले तल्लो तहमा राम्ररी बुझाउन सकेनौँ । जसको कारण कांग्रेस र माओवादीका असफलता पनि एमालेले भोग्न पर्यो ।’
यता निर्वाचनपिच्छे खुम्चिँदै गएको माओवादी केन्द्र पनि रास्वपाको मतबाट सच्चिने बहसमा उत्रिएको देखिन्छ । वर्तमान सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ‘गर या मर’ को अवस्थामा काम गर्ने तदारुकता देखाइरहेका त छन् । तर उनको तदारुकता दल र सत्ता मिलाउने कामबाट बाहिर निस्किन सकेका छैन ।
रास्वपाले ल्याएको मतको झस्का पाएको माओवादीले जनमुखी काममा भन्दा पनि सरकारमा उक्लिनासाथ जनयुद्धका गुरिल्ला सेना रिझाउन खोज्दा आलोचित भइरहेको छ ।
अन्य क्षेत्रीय रुपमा पक्कड जमाएका दल र राष्ट्रिय रुपमा कहिले फुक्दै–खुम्चिँदै गरेको राप्रपा जस्तो दल पनि पुराना पार्टीको वितृष्णामा रास्वपाले मत ल्याएको प्रतिक्रिया दिँदै आइरहेको छ । जनता जनार्दन हुन् भन्दै मत माग्ने राजनीतिक दल र तिनका नेताले आगामी दिनमा ‘सच्चिने कि सक्किने’ तिनकै कर्ममा भर पर्छ !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया