मुख्यमन्त्री कार्कीद्वारा उँभौली पर्वको शुभकामना

लोकपथ
21
Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किराँत समुदायको महान् चाड ‘उँभौली पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहेका  सम्पूर्णमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री कार्कीले आज विज्ञप्ति जारी गर्दै उँभौली पर्व, प्रकृति पूजक वा धर्ती पूजक, अर्थात् नेपालका किराँत समुदायभित्रका विभिन्न जातिले मनाउने प्रसिद्ध पर्व भएको उल्लेख गरेका छन् । यसको अर्को नाम ‘साकेला पर्व’ पनि हो । उँभौली पर्वलाई ऋतु परिवर्तनको सङ्केत दिने पर्वका रुपमा पनि मनाउने गरिन्छ ।

वैशाख शुक्ल पूर्णिमादेखि एक महिनासम्म मनाइने उँभौली पर्व वसन्त ऋतुमा पर्दछ । यस पर्वको पहिलो दिन ‘चण्डी नाच’ नाच्ने चलन छ, जसमा प्रकृतिको आराधना गरिन्छ । यसरी ‘चण्डी नाच’ नाचिने पर्व भएकाले यस पर्वको पहिलो दिन ‘चण्डी पूर्णिमा’को नामले पनि परिचित छ ।

बालीनाली रोप्ने र लगाउने कार्य गर्ने यामलाई किराँतीले ‘उँभौली पर्व’ र बाली घर भित्र्याइने यामलाई ‘उद्यौली पर्व’को रुपमा मानिन्छ । यी दुवै याममा किराँत समुदायले प्रकृतिको पूजा–आजा गरी पर्व मनाउनने गर्दछन् । यस समुदायले प्रकृतिमा रहेका हरेक तत्वजस्तै भूमि, जल, अग्नि, आकाश, वायु चन्द्र, सूर्य पशुपन्छी र वनस्पतिको पूजा गर्ने गर्दछन्

“यस पूजाआजाको मूल सन्देश भनेको यी सबै तत्व प्रति आभारी रहेर बाँच्नु र सधैँ तिनीहरुसँग कृतज्ञ रहनु नै हो । अर्थात् जगत्का हरेक प्रणाीले ‘जगत्बाट विच्छेद भएर होइन एकाकार भएर बाँच्नुपर्छ’ भन्ने महत्वपूर्ण सन्देश दिएको छ”, मुख्यमन्त्री कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मुख्यमन्त्री कार्कीले मानव र प्राकृतिसँग गोहिरो सम्बन्ध रहेको उँभौली पर्वले सम्पूर्ण नेपालीबीच आपसी एकता, सहयोग र सद्भाव अभिवृद्धि गरी सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?