काठमाडौं । केही दिन अघि आत्महत्या गरेका पोल्ट्री व्यवसायी शंकर कँडेलको न्यायका पक्षमा उभिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई व्यवसायी किरण आचार्यले आग्रह गरेका छन् । केही दिन अघि आफ्नै कार्यालयमा आत्महत्या गरेका कँडेलको न्यायका पक्षमा उभिन उनले सामाजिक सञ्जालमार्फत रविलाई आग्रह गरेका हुन् ।
सामाजिक सञ्जालमा रविलाई सम्बोधन गर्दै आचार्य लेख्छन्, ‘हजुर यसै क्षेत्रको अभिभावक भएकाले यहाँका व्यवसायीको न्यायका लागि हजुरको उपस्थिति अनिवार्य छ ।’
यदि कँडेलको न्यायका लागि रवि उपस्थित नभएमा चितवन अभिभावकविहिन टु्हुरो भएको साबित हुने चेतावनीसमेत आचार्यले दिएका छन् । रविप्रति आशावादी हुँदै उनी लेख्छन्, ‘मलाई लाग्छ हजुरले शंकर कँडेललाई न्याय दिनुहुनेछ ।’
भरतपुर–८ घर भएका व्यवसायी कँडेलले आफूले मृत्युको बाटो रोज्नुको कारणसहित पत्र (सुसाइड नोट) लेखेर आत्महत्या गरेपछि उनको न्यायका लागि चितवनका उद्योगी, व्यवसायी र राजनीतिक दलहरुले संयुक्तरुपमा आन्दोलन शुरु गरेका छन् ।
बिहीबार जिल्ला प्रहरी कार्यालयअगाडि धर्ना दिन भेला भएका व्यवसायी र राजनीतिक दलका कार्यकर्ताले भरतपुरको चौबीसकोठी चोकमा पुगेर नाराबाजीसमेत गरे ।
उनीहरुले दुई दिन बितिसक्दा पनि घटनाबारे सत्यतथ्य पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री, जिल्लाका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीको राजीनामासमेत माग गरेका छन् ।
त्यसपछि शंकर कँडेलको न्यायको पक्षमा नाराबाजी गर्दै मालपोतचोक हुँदै केन्द्रीय बस टर्मिनल पुगेको टोलीले सोही चोकमा टायर बालेर आन्दोलन गरेका थिए ।
कँडेलले व्यवसायी प्रदीप रूंगाटा र आफ्नै कर्मचारी जीवन रावलको नाम उल्लेख गरेर पत्र छाडेपछि उनका परिवारले जिल्ला प्रहरी कार्यालयमा ती दुवैजनाविरूद्ध किटानी जाहेरी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया