‘नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कार्यकर्ता या त चरम अवसरवादी हुन्, या त दास हुन् ।’
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको यो भनाइ अहिले आएर पुनः सत्य साबित भएको छ । काण्ड उही हो– नक्कली भुटानी शरणार्थी प्रकरण !
१९९० को दशकमा भुटानबाट खेदिएका शरणार्थीहरुले आफ्नो आश्रय स्थलको रुपमा नेपाल आए । सक्कली शरणार्थीहरुलाई नेपालबाट अमेरिका लगायत विभिन्न देशमा सिफ्ट गराउने प्रक्रियाकैबीच नेपालमा नक्कली शरणार्थी बनाउने तानाबाना बुन्न थालिएको रहेछ, जो अहिले आएर उदाङ्गो भएको छ ।
फोहोरी राजनीतिलाई थप धमिल्याएर त्यहीँ माछा मार्ने राजनीतिक नेताहरुको चरित्र घामजस्तै छर्लङ्ग भएको छ । ‘लहरो तान्दा पहरो थर्कियो’ भनेझैँ अहिले सो प्रकरणमा एकपछि अर्को ठूला माछाहरु जालमा पर्नेभएपछि दोषीलाई उम्काउने प्रपञ्च रञ्च थालिएको छ ।
त्यसमा सामान्य मानिस होइन राज्य सञ्चालनको तालुकदार निकायमा बसेकाहरु मुछिएका छन् । पूर्व गृहमन्त्रीहरु, वहालवाला अख्तियारका प्रमुख आयुक्त, तत्कालिन गृहसचिवदेखि गृहमन्त्रीसँग जोडिएका व्यक्ति, पूर्व परराष्ट्रमन्त्रीका सल्लाहकारदेखि सांसदका छोरासमेत मुछिएका छन् । तर, अनुसन्धानको पाटो फितलो बन्दै ‘वाइडबडी’ जस्ता ठूला काण्डमा सबै दलका नेता मुछिएपछि विषय नै सेलाएको जस्तै यो विषय पनि त्यतिकै सेलाएर नजाला भन्न सकिन्न ।
शक्ति पृथकीकरणको सिद्धान्त अंगिकार गरेको नेपालको व्यवस्थाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको काममा एकअर्काले हस्तक्षेप नहुने त भनिएको छ । तर त्यसको विपरित एकले अर्कोलाई हस्तक्षेप गर्दा न्याय निरुपणमै अन्यौलता देखिइरहेको छ ।
राजनीतिक दलहरुभित्र चरित्र सुधारको विषय बेला–बेला उठिरहन्छ । तर, गत मंसिरको आम निर्वाचन र वैशाखको उपनिर्वाचनले तिनको चरित्र सुधार मात्र होइन पूरै परिवर्तन गर्नुपर्ने सन्देश दिएको छ ।
अझै दलहरुले चेत्ने त कुरा छोडौँ, पूराना दलको वितृष्णाका कारण भएको मत ट्रान्सफरलाई नै हावाको भरमा आएको मत भन्दै हलुका रुपमा लिइरहेका छन् ।
शुरुमा उल्लेख गरिएको वीपीको भनाइलाई यहाँनेर जोडेर हेर्ने हो भने आफ्नो चरित्र सुधार गर्ने भन्दा पनि नेतृत्वले गल्ती गर्दा टुलुटुलु हेरेर बस्ने दलका नर्सरीका रुपमा हेरिने विद्यार्थी संगठनहरु चुपचाप छन् ।
अघिल्ला कतिपय आन्दोलनमा मुल नेतृत्वले घुँडा टेक्न लागेको अवस्थामा सडकबाट आवाज बुलन्द गर्दै क्याम्पस क्याम्पसबाट निस्किएको विद्यार्थीको जुलुसलाई तत्कालिन सत्ताले समेत घुँडा टेकेको थियो ।
गणतान्त्रिक आन्दोलनको कुरा गर्ने हो भने दलले संवैधानिक राजतन्त्र मान्न खोज्दा सडकमा निस्किएको विद्यार्थी संगठनले मुल नेतृत्वलाई नै सडकमा आउन बाध्य पारेको थियो । तर, अहिले तिनै संगठनहरु नेतृत्वले जे गर्दा पनि टुलुटुलु हेरेर बसिरहेको छ ।
आज यति ठूला काण्डहरु बाहिरिँदा संगठनहरु बेखबर जस्तै बनेका छन् । त्यसको विरुद्धमा आवाज उठाउनुभन्दा आफ्ना नेताका नाम आउने बित्तिकै त्यसको बचाउ गर्दै चाकडीमा लिप्त बनेका छन् केही संगठन । विद्यार्थी संगठनका प्रमुखहरु आफ्ना नेताहरुलाई फसाउन लागेको भन्दै त्यसको बचाउमा सामाजिक सञ्जालमा मात्रै लेखेर कर्मकाण्डी दबाब दिइरहेका छन् ।
पेट्रोलको मूल्य १ रुपैयाँ बढ्दा सडक तताउने, रेलिङ भाच्ने विद्यार्थी संगठन अहिले भने सामाजिक सञ्जालमा सिमित भएको छ त्यो पनि आफ्नो नेताको बचाउमा । रचनात्मक दबाब दिनुभन्दा पनि विद्यार्थी संगठनहरु कानमा तेल हालेर बसेको अवस्थाले विद्यार्थी आन्दोलनमाथि नै प्रश्न चिह्न खडा भएको छ ।
अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव एवम् प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी गायब छन् ।
गत बुधबार नै पक्राउपुर्जी जारी भयो, पक्राउपुर्जी जारीपछि पनि प्रहरी प्रमुखसँगै कुराकानी भएको व्यक्ति अहिलेसम्म उनको दल एमालेको दबाबमा लुकाइएको आरोप छ । पटकपटक एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीलाई भेटेर दबाब दिइरहनु र सत्ताधारी दलकै नेताहरु नै मुछिन थालेपछि कतै यो काण्ड तै चुप मै चुप हुने त होइन भन्ने आशंकासमेत उब्जिन थालेको छ ।
नेतृत्व नै भ्रष्ट्राचारीको बचाउमा लाग्दा पनि विद्यार्थी संगठन नेतृत्वमाथि दबाब सिर्जना गर्न सडकमा आउने छाँडकाटँमा देखिँदैनन् ।
नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष समिक बडाल सडकमा आएर जनतालाई सास्ती दिने भन्दा पनि सामाजिक सञ्जालबाट दिइरहेको दबाबलाई आन्दोलनको रुपमा बुझ्नुपर्ने बताउँछन् ।
लोकपथसँग कुरा गर्दै बडालले पहिले जस्तो सडकमा आएर सवारी जाम गरेर जनतालाई दुःख दिनुभन्दा पनि सामाजिक सञ्जालबाट नै दबाब दिने पक्षमा रहेको बताए ।
‘जहिले पनि सडकमै आएर सवारी अवरुद्ध गर्नुपर्ने, जनतालाई दुःख दिनुपर्ने भन्ने होइन । हिजोको जस्तो अवस्था अहिले छैन । अहिले आन्दोलनका मोडलहरु फेरिएका छन् । हिजो सामाजिक सञ्जालहरु नहुँदा सडकमा निस्किएरै आवाज उठाउनुपर्ने जस्तो अवस्था अहिले छैन,’ उनले लोकपथसँग भने, ‘आज सामाजिक सञ्जालमा युवा विद्यार्थीले लेखेका विभिन्न धारणालाई नै आन्दोलनको रुपमा बुझ्नुपर्छ ।’
अहिले जो–जोमाथि आरोप लागेको छ उनीहरुले नैतिकताको आधारमा राजीनामा दिएर कानुनलाई सघाउनुपर्ने बडालको धारणा रहेको छ । यसमा विद्यार्थी संगठनले भन्दा पनि सरकार आफैँ जवाफदेही भएर लाग्नुपर्ने उनी बताउँछन् । त्यसको साथै सरकारले यी विषय छानबिन गर्दा आफूमाथि लागेका आरोपहरु बाहिर आउँछन् कि भन्ने डरले त्यसलाई विषयान्तर गर्न नहुने भन्दै सचेत गराउँछन् ।
‘व्यक्तिमाथि प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । दलले जोगाउने भन्ने होइन । कानुनले सबैलाई समान रुपमा हेर्नुपर्छ र कारबाही गर्नुपर्छ,’ उनले भने, ‘यस्ता विषयमा सरकार नै जवाफदेही दिनुपर्छ । आज यस्ता विषयमा अघि बढ्दा भोलि आफूमाथि लागेका आरोपका फाइलहरु खुल्छ कि भन्ने त्रासमा अनुसन्धान कमजोर हुनुहुन्न । जो सुकै होस् तिनलाई कारबाही गर्ने हैसियत सरकारले देखाउनुपर्यो ।’
यस्ता विषयले नेपालमा भ्रष्ट्राचारलाई उजागर मात्र नगरी विश्वले नै नेपालमाथि हेर्ने दृष्ट्रिकोण नै नकारात्मक रुपमा परिभाषित हुन पुगेको छ ।
यो प्रकरण एउटा नेता र दलमा मात्र अड्किएको र अहिले फ्याट्ट आएको विषय होइन ।
विधि मिच्दै, थिति परिवर्तन गर्दै कानुन बंग्याएर राज्यका नियामक निकायलाई नै चुनौती दिन ठूलो सञ्जालको प्रयोग भएको छ । त्यसमा कांग्रेस पनि अछुतो रहेको छैन । पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनकी श्रीमती मञ्जु खाँण र सांसद एवं पार्टी केन्द्रीय सदस्य समेत रहेकी शेरबहादुर देउवापत्नी आरजु राणासम्म समेत मुछिएका छन् ।
नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा जुनसुकै दल र व्यक्तिसँग जोडिए पनि कारबाही हुनुपर्ने पक्षमा देखिएका छन् । लोकपथसँग कुरा गर्दै अध्यक्ष शेर्पाले आफ्ना पार्टीका नेताहरु समेतको नाम आए पनि कानुनले निष्पक्ष छानबिन गरेर दोषी देखिए कारबाही गर्नुपर्ने बताउँछन् ।
‘भ्रष्ट्राचार कुनै पार्टी, व्यक्ति विशेष हुँदैन । जुनसुकै व्यक्ति जुनसुकै पार्टीमा भए पनि भ्रष्ट्राचार गरेको छ भने पार्टी वा दलसँग जोड्ने विषय नै होइन,’ उनले भने, ‘जो सँग जोडिए पनि कारबाही हुनुपर्दछ ।’
तर, शेर्पाले नेतृत्व गरिरहेको संगठन नेविसंघ पनि सडक आन्दोलनबाट दबाब दिने पक्षमा देखिएको छैन ।
छानबिन भइरहेको विषयमा सडकमै आएर आन्दोलन गर्नु भन्दा पनि सामाजिक सञ्जालबाट दबाब सिर्जना गरिहेको बताउँछन् । तर, उक्त विषयलाई कतैबाट प्रभावित पार्न खोजिए आफूहरु सडकमा आएर दबाब दिने बताए ।
‘अहिले पहिलेको जस्तो सबै कुरा सडकमै आएर आन्दोलन गर्नुपर्छ भन्ने होइन । धेरै दबाबमूलक आन्दोलनहरु सामाजिक सञ्जालहरुबाट राख्ने गरिन्छ,’ शेर्पा भन्दै थिए,‘हामी हेरिरहेका छौँ, यसलाई कहीँ कतैबाट प्रभावित पार्न खोजिए हामी सडकमा आउँछाँै । यो जो व्यक्ति यस विषयमा जोडिएका छन् तिनिहरुलाई कारबाही गर्नुपर्छ ।’ उनले भने ।
तर, आफ्ना नेताहरुको नाम जोडिएकोमा शेर्पाले घुमाउरो पारामा एमालेका नेताहरुले गलत प्रचार गरेको हो की भन्ने शंका व्यक्त गर्छन् ।
‘सामाजिक सञ्जाल प्रयोग गरेर नेताहरुलाई मुछ्ने कामहरु पनि भइरहेका छन् । हाम्रै पार्टीका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणकै विषयमा जोडिएको छ,’ शेर्पाले भने, ‘त्यसमा एमालेका केही नेताले गलत प्रचार गर्दै कांग्रेसलाई पनि मुछिदिन पाए विषयान्तर गर्न सजिलो हुने मनसाय राखेर प्रचार गरिरहेका छन् । चाहे जोसुकै होस्, चाहे हाम्रै नेता भए पनि यसमा कारबाही हुनुपर्छ । प्रहरीले छानबिन गरिरहेको विषयमा कसैले पनि दबाब दिनुहुँदैन ।’
यता सत्तारुढ दल नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसियल नेपालले देशभर हराएका भनिएका टोपबहादुरलाई देखेमा प्रहरीलाई बुझाउने सर्कुलर जारी गरेको छ । माओवादी केन्द्रको मुख्य भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले पनि त्यसैलाई आफ्नो मुख्य आन्दोलन सम्झिएको छ ।
आफ्नै दल सरकारमा हुँदा पनि विद्यार्थी संगठन प्रतिपक्षी बन्नुपर्ने हो तर अनेरास्ववियु क्रान्तिकारी पनि दबाब दिन लागिरहेको देखिँदैन । यदि माओवादी केन्द्र नेतृत्वको सरकारले अहिले अन्य भ्रष्ट्रचारका फाइलहरु खोल्दै जाने हो भने आफूमाथि लागेका क्यान्टोन्मेन्ट लगायतका काण्डहरु पनि अन्य सरकार आएका बेला खोल्ने पो होकी भन्ने डरमा देखिन्छ । त्यसैको डरमा अखिल क्रान्तिकारी पनि सडकमा निस्किन डराइरहेको छ भन्दा फरक पर्दैन ।
अखिल क्रान्तिकारीका उपाध्यक्ष ईन्द्र भुसाल अहिले सडकमै ओर्लिने भन्दा पनि सरकारले गरिरहेको काममा सहयोग गर्नुपर्ने बताउँछन् । यदि सरकार र प्रहरीमाथि दोषी लुकाउन दबाब बढेमा आफूहरुसहित आम विद्यार्थीहरु नै सडकमा आउने लोकपथलाई बताए ।
‘अब बाहिर सडकमा आएर गर्नु भन्दा पनि सरकारलाई सहयोग गर्नुपर्छ । यदी सरकार र प्रहरीमाथि दबाब बढ्दै गयो भने अखिल क्रान्तिकारी मात्र होइन सबै युवा विद्यार्थीहरु सडकमा आउनेछन्,’ उनले भने, ‘वाइसियलले जारी गरेको सर्कुलरलाई फलो गरिरहेका छौँ ।’
आफूहरु सामाजिक सञ्जालबाट दबाब दिइरहेको बताउँदै उनले सरकारले दबाबको आधारमा छोड्ने भन्दा पनि बरु अन्य काण्डमा जोडिएकाहरुलाई खोजिखोजि कारबाही गर्नुपर्ने बताए ।
‘सरकार शक्तिका आधारमा कसैलाई कारबाही गर्ने कसैलाई छाड्ने गर्नु हुँदैन । बरु अन्य काण्डमा जो जो लुकेका छन् तीनिहरुलाई खोजिखोजी कारबाही गरिनुपर्छ,’ उनले भने ।
आन्दोलनको स्वरुपलाई परिवर्तन गरि दबाब सिर्जना गर्दै रचनात्मक रुपमा अघि नबढे कमजोर बन्दै गइरहेको विद्यार्थी आन्दोलन एकादेशको कथा नहोला भन्न सकिन्न ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया