काठमाडौं । जब कुनै फिल्म रिलिजको कुरा चल्छ, तब एउटा संयोग के पर्छ भने नायक र नायिका प्रेममा परेको हल्ला चल्न थाल्छ । केही समयअघि मात्र नायक प्रदीप खड्काको जसिता गुरुङसँग प्रेममा भएको हल्ला चलेको थियो । जे होस्, सेलिब्रेटीको व्यक्तिगत जीवनका गसिप आइरहेका हुन्छन् ।
नायिका सारा सिर्पाली र अनमोल केसी प्रेममा रहेको पनि चर्चा सेलाएको धेरै भएको छैन । यतिबेला भने चर्चामा छ, फिल्म ‘रणवीर’ को जोडी सुपुष्पा भट्ट र सुशील सिटौलाको । केही दिनअघि फिल्म युनिटले पत्रकार भेटघाट राखेको थियो । उक्त भेटघाटमा सुपुष्पा र सुशीलसँगै फिल्मका अन्य दुई मुख्य कलाकार प्रशान्त ताम्राकार र सुभेच्छा खड्का पनि उपस्थित थिए । पत्रकारले सुपुष्पालाई सोधे, ‘तपाईं र सुशील सिटौला गहिरो प्रेममा हुनुहुन्छ भन्ने हल्ला छ नि?’
यसको जवाफमा थोरै मुस्कुराउँदै भनिन्, ‘यो हल्ला मात्र हो, हामीबीच प्रेम छैन ।’
प्रेमको कुरा चलेपछि फिल्मका नायक सुशील सिटौलाले समेत आफू प्रेममा नरहेको स्पष्टीकरण दिए । उनले भने, ‘मलाई अहिले यी प्रेम या अरु कुरामा खासै चासो छैन, मेरो लगाव भनेको कामप्रति छ, आफ्नो करिअरमा छ ।’
दुवैले फिल्म क्षेत्रमा चल्ने यस्ता हल्लालाई सामान्य रुपमा लिएका थिए । वास्तविक जीवनमा प्रेममा नरहेको बताउने सुशील र सुपुष्पा फिल्म ‘रणवीर’ मा भने प्रेमी प्रेमिकाका रुपमा देखिएका छन् । यो फिल्ममा एक्सन, लभ, कमेडी रहेको र अहिले चलिआएको ट्रेन्डभन्दा फरक बनाउने प्रयास भएको निर्माण टिमले बताउँदै आएको छ ।
गोविन्द सिंह भण्डारीले निर्देशन गरेको यो फिल्म आउँदो माघ १८ गतेदेखि नेपालभर रिलिज हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया