लण्डन– उमेरले झण्डै सय बर्षको हाराहारीमा पुगेका राजकूमार फिलिपले ९७ वर्षको उमेरमा पनि आफैँ गाडी हाँक्ने गरिरहेको बताउँदा अचम्म लाग्न सक्छ तर उनले अझै पनि गाडी चलाउँछन् ।
ब्रिटेनकी महारानी एलिजाबेथका पति एवम् ड्युक अफ एडिन्बरा राजकुमार फिलिप अहिले ९७ वर्षको भए । उनले गाडी हाँक्न छाडेका छैनन् ।
तर बिहीवार उनले चलाइरहेको ल्यान्ड रोभर गाडी क्वीन्स सान्द्रिङ्घम एस्टेटनजिकै दुर्घटना भएको बकिङ्घम दरबारले जनाएको छ ।
दुर्घटनामा उनलाई कुनै चोटपटक लागेन । तर घटनापछि उनी निकै आत्तिएको भने बताइएको छ ।
स्थानीय समय दिउँसो तीन बजेतिर ल्यान्ड रोभरलाई ड्राइभ्वे बाट निकाल्दै ए १४९ मार्गमा लैजाने क्रममा उक्त दुर्घटना भएको थियो । अकस्मात उनको जीप अर्को किया कारसँग ठोकिन पुग्यो । घटनामा कारमा रहेका दुई महिलालाई सामान्य चोट लागेको तर उनीहरूलाई तत्काल अस्पतालमा उपचारपछि घर पठाइएको छ ।
प्रत्यक्षदर्शीहरूका अनुसार ठोक्किएपछि राजकुमारको गाडी पल्टिएपछि केही मानिसले उनलाई कारबाट निकाले ।
स्थानीय प्रहरीका अनुसार प्रचलित नीतिअनुसार दुर्घटनापछि दुवै गाडीका चालकले मादक पदार्थ सेवन गरेको वा नगरेको परीक्षण गरिएको थियो । तर परीक्षणमा कसैले पनि मादक पदार्थ सेवन गरेका थिएनन् ।
आफैँ गाडी नहाँक्न दिइएका सुझाव उनले पटक्कै स्वीकारेका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया