काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले ‘एन्फा’ भित्र भएको भ्रष्टाचार र आर्थिक अनियमितताको छानबिन गर्न समिति गठन गरेको छ ।
खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ ‘एन्फा’का वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाको नेतृत्वमा रहेको टिमले चुनावका बेला व्यापक रुपमा गरेको भ्रष्टाचार र आर्थिक अनियमितताको छानबिन गर्न समिती गठन गरेको हो ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले एन्फामा भएको भ्रष्टाचार र आर्थिक अनियमिततालाई मध्यनजरमा राख्दै सह सचिव नेतृत्वको ३ सदस्यीय छानबिन समित गठन गरेका हुन् ।
छानबिन समितिमा खेलकुद मन्त्रालयका सचिव अणप्रसाद न्यौपाने, उपसचिव समन्तमणी आचार्य र संघ संस्था विभाग प्रमुख डेमबहादुर बस्नेत रहेका छन् । खेलकुद मन्त्री सुनारले समितिलाई १० दिन भित्र छानविन गरि प्रतिवेदन बुझाउन निर्देशन समेत दिएको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समेत एन्फाभित्र देखिएको विवादको विषयमा चासो राखेपछि खेलकुद मन्त्रालयले समिति गठन गरेको जनाएको छ ।
एन्फा निर्वाचनका बेला व्यापक रुपमा आर्थिक चलखेल भएको भन्दै पुर्व वरिष्ठ उपाध्यक्ष मणी कुँवरले पत्रकार सम्मेलन समेत गरेका थिए । एन्फाको वर्तमान नेतृत्वविरुद्धमा अहिले चार जिल्ला फुटबल संघ आन्दोलनरत छन् ।
यस अघि आन्दोलनरत कुँवरले निर्वाचनका बेला आर्थिक अनियमितता भएको भन्दै अडियो टेप समेत सार्वजनिक गरेको थियो । चारै जिल्लाका पदाधिकारीहरुले एन्फा निर्वाचनका बेला ठुलो भ्रष्टाचार र आर्थिक अनियमितता गरेको जिकिर गर्दै १४ बुँदे आरोप लगाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया