युएईविरुद्धको क्रिकेट सिरिजमा जित्न हात पार्नेमा आशावादी छुँ : कप्तान पारस

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा जित हात पार्नेमा आशावादी रहेको बताएका छन् । 

कप्तान खड्काले युएईविरुद्धको एकदिवसीय क्रिकेट र टी-ट्वान्टी क्रिकेट सिरिज खेल्न जानु अगाडि यस्तो धारणा राखेका हुन् । साथै उनले युएईविरुद्ध खेल खेल्न सबै खेलाडी आतुर रहेको पनि बताए । 

उनले भने, ‘नेपाली टिमका सबै खेलाडीहरु एकदिवसीय र टी-ट्वान्टी क्रिकेट खेल्न निक्कै उत्साहित छन्, खेलाडीहरुमा जोश र जागर देखिएको छ, युएईविरुद्धको खेलमा जीत हात पार्ने आशावादी छु ।’ साथै उनले युएईविरुद्धको सिरिज अवसरसँगै चुनौती पनि रहेको जानकारी दिए । 

‘युएईमा हामी स्तररीय खेल खेल्नेछौँ, एकदिवसीय र टी-ट्वान्टी सिरिज नेपाली टिमको लागि चुनौती पनि हो, हामीले त्यहाँ खेलेको सबै खेल रेकर्ड हुनेछ’, उनले बताए । 

यता मुख्य प्रशिक्षक जगत टमाटाले नेपाली टिमले उत्कृष्ट नतिजा निकाल्नेमा आफु ढुक्क भएको जानकारी दिए । साथै उनले यसपटक नयाँ युवा खेलाडीहरुलाई समेत समावेश गरेकाले नेपाली क्रिकेटलाई अगाडि लान थप मदत पुग्ने पनि बताए । 

त्यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले चुनौती, अभाव र अन्यौलताकाबीच पनि नेपाली क्रिकेटले पाएको सफलताले अझ खेल्न हौसला मिलेको बताए । यहि माघ माघ ११ देखि २० गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई खेलकूद परिषद्का सदस्य–सचिव विष्टले सफलताको शुभकामना दिँदै बिदाइ समेत गरेका थिए ।

नेपालले युएईसँग तीन एकदिवसीय र तीन टी–ट्वान्टी सिरिज खेल्नेछन् । सहभागी खेलाडीहरुमा कप्तान पारस खड्का,  उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी र विनोद भण्डारी छन् । 

त्यस्तै भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोरा छन् । भीम अविनाश, पवन र सन्दिपले सिनियर राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका हुन । वैकल्पिकतर्फ भने ललितसिंह भण्डारी, विक्रम सोब र सुशन भारी छन् । 

नेपालले युएईसँग पहिले एक दिवसीय सिरिज खेलेपछि मात्र टी–ट्वान्टी सिरिज खेल्नेछ । नेपालले यही माघ ११, १२ र १४ गते एक दिवसीय खेल खेल्नेछ । त्यसपछि माघ १७, १८ र २० गते टी–ट्वान्टी सिरिज खेल्नेछ । 

एक दिवसीय मान्यता पाएपछि युएईविरुद्धको शृङ्खला नेपालका लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला हुनेछ । विश्व क्रिकेट परिषद् ‘आइसिसी’बाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्ड्ससँग पहिलो एकदिवसीय शृङ्खला खेलेको थियो । दुई खेलको शृङ्खला एक÷एक जितको बराबरीमा सकिएको थियो । 

नेपालले गत वर्ष जिम्बाबेमा भएको विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । युएईले पनि विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । आइसिसीबाट एकदिवसीय मान्यता पाउने नेपाल कान्छो टोली हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?