रोनाल्डो कर छली मुद्दामा दोषी ठहर, २३ महिनाको जेल सजाय

एजेन्सी । पोर्चुगिस तथा युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो कर छली मुद्दामा दोषी ठहर भएका छन् । 

स्पेनको कर कार्यालयले रियल म्याड्रिडका पूर्व स्ट्राईकर रोनाल्डोलाई कर छलीको आरोपमा यसअघि अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले रोनाल्डोमाथि कर छली मुद्दामा दोषी ठहर गर्दै १८ दशमलब ८ मिलियन युरो जरिवाना तिराउने र २३ महिनाको जेल सजायको फैसलासमेत गरेको छ ।

६ महिला अघिमात्र इटालियन क्लब युभेन्टस क्लबमा आवद्ध भएका  ३३ बर्षीय रोनाल्डो कर छली मुद्दाको फैसलाका क्रममा मंगलवार म्याड्रिड पुगेका थिए । 

रोनाल्डोले अदालतको फैसला स्वीकार गरेका छन् । अदालतले जेल सजायको फैसला गरे पनि रोनाल्डोले जेल नै जानुपर्ने चाहिँ छैन । स्पेनको कानुनअनुसार दुई वर्षसम्मको जेल सजायका लागि जेल जानु पर्दैन । त्यसबापत थप जरिवाना तिरे पुग्छ ।

रोनाल्डो सन् २००९ मा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट स्पेनी क्लब रियल म्याड्रिड गएका थिए । उनलाई सन् २०११ देखि २०१४ को बीचमा विभिन्न चार शीर्षकका कर छलेको आरोप लागेको थियो ।

उनले १४ करोड ७६ लाख ६८ हजार आठ सय ९७ युरो बराबर आम्दानीको कर नतिरेको भन्दै कर कार्यालयले छानबिन गरिरहेको थियो । रोनाल्डोसँगै स्पेनका अन्य स्टार फुटबल खेलाडीहरु  कर छलीको मुद्दामा पटक पटक दोषी ठहरिएका छन् । यसअघि बार्सिलोनाका लियोनल मेस्सी पनि कर छलीमा दोषी ठहर भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?