एउटै खेलका दुई वटा समानान्तर सङ्घ रहन सक्दैनन् : मन्त्री विश्वकर्मा

काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले एउटै खेलका दुई वटा समानान्तर सङ्घ रहन नसक्ने बताएका छन् । 

नवगठित नेपाल जिम्न्यास्टिक सङ्घका पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै उनले एउटै खेलका दुईवटा सङ्घ अस्तित्वमा रहँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागिताको विषय जहिले पनि विवादित हुने भएकाले मन्त्रालयले एक खेलको एउटा मात्र सङ्घको प्रावधान अघि सारेको जानकारी गराए । 

उनले भने, “मन्त्रालयले विवाद रहेको सङ्घहरु मिलाउन राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाको अध्यक्षतामा समिति क्रियाशील छ, समितिले अहिले विवाद रहेका सङ्घहरुका पादाधिकारीसँग छलफल गरिरहेको छ, अब सबै खेलका एउटा÷एउटा मात्र सङ्घ हुन्छन् ।”

जिम्न्यास्टिक सङ्घको एकीकरणको सन्देशले अन्य सङ्घमा रहेको विवाद पनि क्रमैसँग मिल्दै जाने मन्त्री विश्वकर्माले विश्वास व्यक्त गरे । 

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले खेलकूदका साथै हरेक क्षेत्रमा हुनुपर्ने एकता भएमा खुशी लाग्ने बताउँदै एकताले नै परिणाम, सफलता र शक्ति दिने बताए ।

राखेप उपाध्यक्ष तिम्सिनाले जिम्न्यास्टिक सङ्घको एकीकरण समितिलाई दिइएको जिम्मेवारीको एउटा सानो किस्ता र पेश्की मात्र भएको बताउँदै आगामी दिनमा विवादमा रहेका अन्य सङघलाई पनि व्यवस्थापन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । 

राखेप सदस्य–सचिव केशवकुमार विष्टले खेलकूद क्षेत्रको समृद्धिका लागि सबै किसिमका विवादलाई अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । एकताले जिम्न्यास्टिक खेलको विकासका लागि उपलब्धि हुने उनको भनाइ थियो । 

नवगठित सङ्घका अध्यक्ष ध्रुवबहादुर प्रधानले खेलकूद मन्त्रालय, राखेप र समितिले दिएको जिम्मेवारीलाई समयमै पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै राम्रो समझदारीबाट सङ्घलाई अगाडि बढाउनाका साथै जिम्न्यास्टिकको स्तरवृद्धिमा एकजुट भई काम गर्ने बताए । 

 सह–अध्यक्ष किशोरबहादुर सिंहले दुवै पक्षको सुझबुझले एकता सम्भव भएको बताउँदै विगतका कुरालाई बिर्सेर जिम्न्यास्टिकको विकासमा सक्रिय हुनुपर्ने आवश्यकता औँल्याएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?