काठमाडौं । बाल्यकालमा खेलिने खेलहरुले मान्छेको जीवनमा कस्तो असर पार्ला ? सानोमा मोजाका भकुण्डो बनाएर खेलिएका खेल होऊन् या पहाडमा उकाली ओराली गर्दै बिताएका दैनिकी । यी सबैले केही न केही सिकाएका हुन्छन् । केही न केही छाप छोडेर गएका हुन्छन् । झण्डै तीस वर्ष राष्ट्रिय भलिबल टिममा भलिबल खेलेका भरत शाहलाई पनि ती उकाली ओरालीले धेरै कुरा सिकाएका छन् ।
सुदूरपश्चिमको जिल्ला अछाम । अछामको रिडीकोटमा उनको घर पथ्र्यो । घरबाट स्कुल पुग्न एउटा डाँडा छिचोल्नुपथ्र्यो । घरबाट स्कुल जाँदाको त्यो यात्रा कुनै ‘एड्भेन्चर’ भन्दा कम थिएन । खेतका कान्लाहरु नाघ्दै उनी लङ्ग जम्प गर्थे, ढिस्का नाघ्दै हाइ जम्प । लुगा सुकाउने डोरी उनको नेट हुन्थ्यो, कागज खाँदिएका मोजा बल ।
बाल्यकालका यिनै अर्गानिक हाइ जम्प र लङ्ग जम्पहरुले आफूलाई भविष्यमा खेलाडी बन्न तयार गरिरहेका रहेछन् भन्ने भरतले खेल क्षेत्रमा ३ दशक बिताइसकेपछि हेक्का पाएका छन् । जीवनको सबैभन्दा उर्जाशील उमेर नै खेल क्षेत्रलाई सुम्पिएका भरत शाह अहिले पचास पुगिसके ।
सोह्र वर्ष नेपाल भलिबलको राष्ट्रिय टिमको कप्तान रहेका भरत शाहले झण्डै २५ वर्ष निरन्तर राष्ट्रिय स्तरका खेलहरु खेलेर खेल क्षेत्रमा आफूलाई स्थापित गरेका छन् । अहिले उनले खेल क्षेत्रबाट सन्यास लिएपनि टाढिएका भने छैनन् । हाल नेपाल प्रहरी खेलकुद समितिको खेल शाखामा कार्यरत भरत पदले प्रहरी निरिक्षक पनि हुन् । नेपाल प्रहरी अन्तर्गत हुने १७ वटा खेल र २ सय ५० जना खेलाडीका ‘गार्जियन’ भएर व्यवस्थापनको पाटो सम्हालिरहेका छन् उनले यतिबेला ।
यस अर्थमा भरतलाई खेल क्षेत्रलाई लामो समयसम्म सेवा पु-याउने खेलाडी भन्दा खासै फरक नपर्ला ।
तीन पुस्ता फेरिए, उनी फेरिएनन्
एसएलसीपछि उच्च शिक्षाका लागि सुदूर पश्चिमको सानो संसारबाट बर्दियाको फराकिलो फाँटमा फड्को मार्दा भरतको उमेर बीस पुगेको थियो । गाउँघरमा बाजी थापेर सामान्य रुपमा भलिबल खेलेका उनलाई भलिबलको नियमका बारेमा खासै ज्ञान थिएन । तर, बर्दियाका युवाहरुले देखाउने भलिबलप्रतिको क्रेजले उनलाई पनि खेल्ने हुटहुटी जाग्थ्यो । कक्षा सकिनासाथ चौरमा पुग्थे । खेल्न नपाएपनि हेरेरै चित्त बुझाउँथे ।
उनले भलिबल खेल्ने मौका तब मात्र पाए, जब उनको भेट आफ्ना बाल्यकालका साथीसँग भयो ।
‘साथी बर्दियाका रैथाने रहेछन्, उनैले मलाई त्यहाँका साथीहरुसँग परिचय गराइदिए त्यसपछि बल्ल मैले पनि खेल्न थालेँ’, जीवनकै अविस्मरणीय क्षण भरतले सुनाए ।
खेल्न शुरु गरेको एक महिनामै उनी त्यहाँका उत्कृष्ट खेलाडीमा गनिन थालिसकेका थिए । नभन्दै उनले एकै वर्षमा बर्दिया जिल्ला भलिबल टिम हुँदै क्षेत्रीय र राष्ट्रिय टिमसम्मको यात्रा तय गरे
‘२०४५ सालभरिमा म सामान्य युवकबाट राष्ट्रिय खेलाडी भएँ’, आफ्नो खेल यात्राका बारेमा सुनाउँदै उनी थप्छन्, ‘अहिले ३० वर्ष पूरा भयो फर्केर हेर्नुपरेको छैन ।’
हुन पनि उनले सहभागिता जनाएका ८० प्रतिशत भन्दा बढी राष्ट्रिय स्तरका प्रतिस्पर्धामा प्रायः नेपाल पुलिस क्लबले नै बाजी मारेको रेकर्ड छ । ठ्याक्कै यतिवटा गेम खेलेँ भनेर यकिनसाथ भन्न नसकेपनि भलिबल खेल्ने क्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै जिल्ला लगभग पुसिकेको उनी बताउँछन् । ‘कर्णाली पुगेकै छैन, जान मन छ, खेल्नपनि र हेर्न पनि ।’, मुस्कुराउँदै उनले थपे ।
राष्ट्रिय टिमबाट अन्तिम खेल खेल्दा ४५ वर्षका थिए भरत । त्यसताका राष्ट्रिय टिममा प्रायः सबै साना उमेरका खेलाडीहरुमात्र थिए । उमेरले अरुभन्दा पाको भएपनि कसरत र तन्दुरुस्तीकोे हिसाबले आफू जुनियर भन्दा सक्रिय भएको बताउँछन् ।
‘मलाई अझै याद छ, एउटा पत्रिकाले नेपालका राष्ट्रिय खेलाडी : १३ वर्षकी सिपोरादेखि ४५ वर्षका भरतसम्म भन्दै न्यूज स्टोरी छापेको थियो,’ हाँस्दै उनले सुनाए, ‘मैले खेल्दै गर्दा तीन पुस्ता खेलाडी फेरिए तर म फेरिइन’।
‘भलिबलसँगै विवाह गरिसकें’
उमेरले ५० बसन्त काटिसकेका भरत अविवाहित छन् । ‘उमेर ढल्किसक्यो खै बिहे गरेको ? भोज कहिले खुवाउने ?’ भेट हुनासाथ नमस्कार, हाइ हेल्लो भन्दा पनि आफ्नाआफन्त र साथीभाइले भरतसँग यस्तै प्रश्नबाट कुराकानी शुरु गर्ने गरेका छन् । आफ्नै आमा भने हरेक दिन ‘बुहारी चाहियो’ भनेर थाकिसकिन् । आजकल छोराको विवाहका बारेमा खासै चासो देखाउँदिनन् ।
विवाह हुँदैन भनेर चटक्कै ननकारे पनि ढिलो भइसक्यो भनेर हतारिहाल्ने अवस्था पनि नभएको भरत बताउँछन् । ‘विवाह नभएकोमा मलाई बेफाइदा भन्दा धेरै फाइदा नै छ, किन आत्तिने?’ यसो भन्दै गर्दा उनको बोली र हाँसो एकैसाथ निस्कियो ।
‘विवाह भएको भए श्रीमती हुन्थिन्, छोराछोरी हुन्थे, म यसैमा अल्झिन्थें’, उनले थपे, ‘अक्सर खेलाडीहरु खेल्दाखेल्दै विदेश भासिनु, बेपत्ता हुनु सबैको कारण कहीँ न कहीँ घरपरिवारको जिम्मेवारी नै त हो ।’
विवाहले बोझ नथपे पनि जिम्मेवारी पक्कै थपिदिने उनको ठम्याइ छ । फेरि, सुदूर पश्चिमको अनकन्टार गाउँबाट नेपालका अधिकांश ठाउँ र २० वटा भन्दा बढी देश घुम्न पाउनु पनि आफ्नो विवाह नभएरै हो भन्दै उनी प्रष्ट्याउँछन् ।
सानोमा उनीसँगै भलिबल खेल्ने साथीहरु प्राय विदेश पलायन भइसके, कोही अझै पनि सुदूरपश्चिम तिरै रुमलिइरहेका छन् । उनीहरुले समतल भूभाग देखेका छैनन्, मोटर चढेका छैनन्, रिडिकोट गाउँलाई नै संसार मानिरहेका छन् । आफ्ना साथीहरुको यो अवस्था देखेर दुःख लागेपनि आफू त्यस अवस्थामा फस्नु नपरेकाले भरत केही राहत महसुस गर्छन् ।
जसरी नेपाल प्रहरीमा ‘गार्जियन’ भएर खेल र खेलाडीहरुलाई सम्हालिरहेका छन् त्यसैगरी घरपरिवारलाई पनि समेटेका छन् भरतले । बुबा बितेपनि आमालाई आफूसँगै शहरमा राखेका छन्, भाइबुहारी पनि उनीसँगै बस्छन् । बुढेसकालमै भएपनि आफ्नी आमाको सबै आवश्यकता र रहरहरु सकेसम्म पूरा गरेका छन् उनले । कहिलेकाहीँ उनलाई लाग्छ, ‘आमाको समयमै बुहारी हेर्ने इच्छा चाहिँ पूरा गर्न सकिएन कि !’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया