काठमाडौं । संयुक्त अरब इमिरेट्स ‘युएई’विरुद्धको एकदिवसीय क्रिकेट र टी-ट्वान्टी क्रिकेट सिरिजलाई मध्यनजर गर्दै नेपाली टिमले अभ्यासलाई निरन्तरता दिइरहेको छ ।
भोली ‘शुक्रवार’बाट शुरु हुने ‘युएई’विरुद्धको एकदिवसीय क्रिकेट र टी-ट्वान्टी क्रिकेट सिरिजको उपाधि जित्ने लक्ष्य नेपालको रहेको छ । नेपालले युएईसँग पहिले एक दिवसीय सिरिज खेलेपछि मात्र टी–ट्वान्टी सिरिज खेल्ने कार्यक्रम रहेको छ ।
नेपालले माघ ११, १२ र १४ गते एकदिवसीय खेल खेल्ने तालिका रहेको छ । त्यस्तै माघ १७, १८ र २० गते टी–ट्वान्टी सिरिज खेल्नेछ । एक दिवसीय मान्यता पाएपछि युएईविरुद्धको शृङ्खला नेपालका लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला हुनेछ ।
विश्व क्रिकेट परिषद् ‘आइसिसी’बाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्ड्ससँग पहिलो एकदिवसीय शृङ्खला खेलेको थियो । दुई खेलको शृङ्खला एक/एक जितको बराबरीमा सकिएको थियो ।
नेपालले गत वर्ष जिम्बाबेमा भएको विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । युएईले पनि विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । आइसिसीबाट एकदिवसीय मान्यता पाउने नेपाल कान्छो टोली हो ।
नेपाली टिममा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी र विनोद भण्डारी छन् ।
त्यस्तै भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोरा छन् । भीम अविनाश, पवन र सन्दिपले सिनियर राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका हुन । वैकल्पिकतर्फ भने ललितसिंह भण्डारी, विक्रम सोब र सुशन भारी छन् ।
तस्वीर : रमन सिवाकोटी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया