एजेन्सी । जापानकी नायोमी ओसाका र चेक रिपब्लिककी पेट्रा किभिटोभा जारी अस्ट्रेलियन ओपन टेनिसको उपाधिका लागि भिड्ने भएका छन् ।
मेलबर्न पार्कमा बिहीवार भएको महिला एकलतर्फको दोस्रो सेमिफाइनल खेलमा ओसाकाले चेक रिपब्लिककी क्यारोलिना पिल्सकोभालाई २-१ को निक्कै प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै अन्तिम दुईको स्थान तय गर्न सफल भइन् ।
उनले पिल्सकोभालाई खेलको पहिलो सेटमा ६-२, दोस्रो सेटमा ४-६ र अन्तिम सेटमा ६-४ ले हराएकी थिइन् । खेलको पहिलो र अन्तिम सेटमा जित हात पारेकी ओसाका दोस्रो सेटमा भने पराजित भएकी थिइन् ।
युएस ओपन टेनिस च्याम्पियन ओसाकाले दोस्रो सेटको खेलमा भने डर लागेको बताइन् । ‘यो मेरो अविस्मरणीय खेल क्षण बन्यो, दोस्रो सेटको खेलमा सर्भ गर्ने बेलामा मलाई निक्कै डर लागेको थियो, तर, जसरी भएपनि मैले खेल जित्न सफल भए’, उनले बताए ।
त्यस्तै बिहीवार नै भएको पहिलो सेमिफाइनल खेलमा चेक रिपब्लिककी पेट्रा किभिटोभाले अमेरिकी ड्यानियल कोलिन्सलाई ७-६ र ६-० को सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गर्न सफल भइन् ।
खेलको पहिलो सेटमा कडा टक्कर दिएका कोलिन्स दोस्रो सेटमा भने किभिटोभासँगै सहजै पराजित भएकी थिइन् । अब फाइनलमा किभिटोभाले ओसाकाको सामना गर्नेछिन् । यी दुई खेलाडीबीचको खेल यहि शनिवार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया