काठमाडौं ।
मैले राष्ट्रिय खेलाडीको कार्ड पाए नि !
‘खेलकुद परिषद्ले दिएको रकम चना खान पनि पुगेन’
भदौं महिना, झरीमा रुज्दै लोकपथको कार्यालयमा आइपुगे, अल्ट्रा धावक कुल बहादुर शाही ।
काँधमा भएको झोला बिसाउँदै प्रमाणपत्रको ठेली निकाले र टेबलमा राखे ।
तिनै प्रमाणपत्रलाई देखाउँदै उनले भनेका थिए, ‘यहि नै मेरो खेल क्षेत्रमा लागेदेखि पाएको उपलब्धी ।’
***
२ सय १८ दिनमा नेपालको ७५ वटै जिल्ला दौडेर विश्व रेकर्ड कायम गरेका धावक शाही पुनः यसैसाता लोकपथको कार्यालयमा आए । सुदुरपश्चिमको जुम्लाबाट खेलकुदमा केही गर्छु भन्ने अठोट लिएर दौड शुरु गरेका शाहीको मुहारमा थोरै भएपनि मुस्कान थियोे ।
पहिलो पटक निरास अवस्थामा भेटेका शाहीले यसपटक भने हर्षित मुद्रामा थिए । उनले जोशिलो आवासमा भने, ‘सर मैले राष्ट्रिय खेलाडीको कार्ड पाए नि ।’
त्यति भन्न नसकिदैं उनले एकै वाक्यमा भने, ‘मलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव बहादुर विष्ट सरले केही थान खेलकुद पोशाक, जुत्ता र १० हजार रुपैयाँ पनि डाइट खाउँ भन्दै दिनुभयो ।’
जुम्लाको गरिब परिवारमा जन्मिएका शाहीलाई त्यो १० हजार रुपैयाँ पनि लाखौँ रुपैयाँ जस्तो लागेको प्रतिक्रिया दिए । ‘खेलकुदमा लागेको ७ वर्ष नाघिसक्यो तर, अहिलेसम्म मैले केही सेवा सुविधा पाएको थिईन । आज मलाई १० हजार रुपैयाँ पनि लाखौँ जस्तो लागेको छ, उनले बताए ।
नेपाली सञ्चारमाध्यममा पनि खासै छाउन नसकेका उनलाई नेपाली खेलकुद क्षेत्रका कमै व्यक्तिले मात्र चिन्छन् ।
तेक्वान्दो पूर्व खेलाडी दिपक विष्ट, संगिना वैध, म्याराथनका बैकुण्ठ मानन्धरलाई नचिन्ने सायद कमै होलान् । तर, शाही भने गुमनाम जस्तै छन् । उनलाई चिन्छन् त, सेक्युरिटी गार्ड भनेर । शाहीले लोकपथ कार्यालयमा हँस्यौली पारामा भने, ‘मलाई अरुले सेक्युरिटी गार्ड भनेर चिन्दा त्यति दुःख लाग्दैन्, तर सदस्यसचिव विष्ट सरले नै पहिले म खेलाडी हुँ भन्दा चिनेनन्, खेलकुद परिषद्को प्राङ्गणमा नै रहेको दशरथ रंगशाला छ जहाँ म दैनिक अभ्यासका लागि दौडिरहन्थे ।’
यस अघि लोकपथमा ‘यहाँ राम्रो काम गर्नेलाई पुरस्कार होइन, तिरस्कार गरिन्छ’ शीर्षकमा समाचार सम्प्रेषण गरिएको थियो । त्यहि समाचारको प्रभाव स्वरुप उनले खेलकुद परिषद्बाट केही भएपनि सहयोग रकम प्राप्त गरेका छन् ।
खेलकुद परिषद्ले उपलब्ध गराएको त्यहि सानो रकमले कुल बहादुरले आफ्नो दुखेको घाउमा मल्हम लगाएको महशुस पनि लगाए ।
नसोध मलाई कहाँ दुख्छ खाउ
स्व. स्वरसम्राट नारायण गोपालको स्वरवद्ध यो गितको शव्द ठ्याक्कै अल्ट्राधावक शाहीको जीवनसँग मिल्दोजुल्दो छ ।
७ वर्ष नेपाली खेलकुदमा बिताएका उनलाई नेपाल सरकारबाट कुनै पनि सहयोग छैन । विकट जिल्लाका खेलाडी त्यसमा अझ आर्थिक संकट जहिल्यै झेल्नुपर्ने । काठमाडौंमा बस्नलाई शाही छुट्टै कोठामा भाडामा लिएर बस्न सक्ने समेत अवस्था छैन ।
अल्ट्रा धावक शाही कार्यरत इन्टेल सेक्युरिटी अफिसको सानो कोठामा बसेका धावक दुखजिलो गरेर आफ्नो दैनिकी चलाई राखेका छन् । शाहीको अवस्था निकै दयनिय छ ।
उनले भने, ‘काम गर्दा पाइने १२ हजार रुपैयाँले गाउँमा रहेका वृद्ध आमाबुवालाई पनि पठाउनै प-यो, यहाँ सामान्य कोठाको भाडा ३५ सय देखि ४ हजार पर्छ, मेरो अहिलेसम्म गाँस बाँस र कपासको केही व्यवस्था छैन ।’
‘अरु खेलाडीहरु सुकिलो भएर मैले काम गर्ने रेस्टुरेन्टमा आउँदा उनीहरुलाई नै सलुट गर्नु पर्ने बाध्यता छ’, उनले लोकपथलाई बताए ।
काम गर्दा सेक्युरिटी गार्डलाई तल्लो स्तरको सम्झिँदा दुःख लाग्ने पनि उनले बताए ।
गिनिज बुकमा अर्को नाम लेखाउने इच्छा
‘गिनिज बुक अफ वल्ड रेकर्ड’ अर्थात् विभिन्न नौलो काम गरेर बनाइने विश्व रेकर्ड । तर, यो रेकर्ड कमैले मात्र बनाउन सफल हुन्छन् । यसअघि नै २ सय १८ दिनमा नेपालको ७५ वटै जिल्ला दौडेर विश्व रेकर्ड कायम गरेका शाही अर्को नयाँ रेकर्ड बनाउने तयारी छन् ।
‘मैले भारतको नयाँ दिल्लीको रंगशालामा दौडेर नयाँ विश्व कीर्तिमान बनाउने लक्ष्य थियो, त्यो रंगशाला १६ सय मिटरको छ, तर, आर्थिक अभाव कै कारण यो सपना पुरा गर्न सक्दिन की भन्ने चिन्ता लागेको छ’, उनले थपे ।
शाहीले आशा भने अहिले नै मारिसकेका छैनन् । सरकार र खेलकुदसँग सम्बन्धीत पक्षले सहयोग गरे अवश्य विश्व कीर्तिमान बनाउने सक्ने पनि जानकारी दिए । यसैलाई मध्यनजरमा राख्दै उनले समय मिलाएर आफ्नो अभ्यासलाई पनि निरन्तरता दिइ राखेका छन् ।
‘म समय मिलाएर अभ्यास गरिरहेको छु, टुडिँखेलमा दुई घण्टा जति वामअफ गर्छु, त्यसपछि कहिले चक्रपथ परिक्रमा गर्छु भने हप्ताको एक दिन धादिङ बेशीसम्म दौड्न जान्छु’, उनले लोकपथलाई बताए ।
सरकारसँग आग्रह
अल्ट्रा धावक कुल बहादुरले सरकारले अहिलेसम्म आश्वासन मात्र दिएको बताए । भाषणको बेलामा सहयोग गर्छु भन्ने नेतादेखि प्रधानमन्त्रीसम्मले भेट गर्न पनि गाह्रो मानेको उनले गुनासो पोखे ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गएको धेरै पटक भयो, तर उहाँसँग मेरो व्यक्तिगत भेटघाट समेत भएको छैन, कार्यक्रम हुँदा देशको नाम उच्च बनाएको भन्दै सहयोग गर्ने आश्वासन दिए । तर, अहिलेसम्म मैले उहाँबाट त्यस्तो केही सहयोग पाएको छैन’, उनले भने ।
साथै उनले सरकारसँग खेल खेल्ने वातारण बनाइदिन पनि आग्रह गरेका छन् । उनले भने, ‘मेरो अरु केही छैन, मलाई यो सेक्युरिटी गार्डको काम गर्नु छैन, मलाई नितान्त खेलाडी भएर खेल्ने वातावरण बनाइदिनुस् । ’
३१ वर्षिय शाही आँठौ राष्ट्रिय खेलकुद प्रतियोगिता पनि खेल्ने तयारीमा छन् । ‘प्रतियोगिता खेल्ने त भनियो, तर कसरी खेल्ने भन्ने चिन्ताले पिरोलिएको छ, सेक्युरिटीको काम गर्नु की खेल खेल्ने, म खेलकुदलाई चटक्कै माया मार्न सक्दिन’, शाहीले बताए ।
अस्ट्रा धावक शाही जस्ता आर्थिक अभावबाट पिरोलिएका खेलाडीहरुलाई मध्यनजरमा राख्दै राष्ट्रिय खेलकुद परिषद्ले होस्टेलको समेत सञ्चालन गरेको छ ।
तर, के कारणले उनी सबै सेवा सुविधाबाट बञ्चित छन् ? कहिले सम्म राष्ट्रिय खेलाडी आर्थिक संकटकै कारण विदेश पलायन हुने ? खेलाडीले खेल्छु भन्दैछ तर सेक्युरिटी गार्ड हुन बाध्य पार्ने ? अरु कति गिर्नुपर्ने हो खेलाडीले ? किन यति लाचार बनेको खेलकुद परिषद् ? नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद् लगायत सरोकारवाला निकायले खेलाडीहरुलाई खेल्ने मैत्रिपुर्ण वातारण बनाउनतर्फ बेलैमा ध्यान जान जरुरी छ । होईन भने हरेक वर्ष पलायनका तथ्यांक सार्वजनिक गरेर चुक्चुकाउनुको विकल्प रहदैन ।
यो पनि पढ्नुहोस्
यहाँ राम्रो काम गर्नेलाई पुरस्कार होइन, तिरस्कार गरिन्छ : अल्ट्राधाबक शाही
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया