एकदिवसीय क्रिकेट सिरिज :युएईद्वारा नेपालसामु दु्ई सय ५५ रनको चुनौती प्रस्तुत

काठमाडौं । संयुक्त अरब इमिरेट्स ‘युएई’ले नेपालसामु २ सय ५५ रनको चुनौती प्रस्तुत गरेको छ । 

आईसिसि क्रिकेट एकेडेमीमा सोमवार भएको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५४ रनको योगफल तयार पारेको थियो । 

युएईका लागि ओपनर ब्याट्सम्यान आश्फाक अहमेद र चिराग सुरी शुन्य रनमा आउट भए । अहमेदलाई सोमपाल कामीले तथा सुरीलाई करण केशीले आउट गरे । त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका गुलाम शब्बरलाई सन्दिप लामिछानेले एलबिडब्लुमा आउट गर्दै पेभेलियनमा फर्काए । उनले १८ रन जोडेका थिए ।

४२ बलमा ४ चौका प्रहार गर्दै २६ रन जोडेका मोहम्मद उश्मानलाई कप्तान पारस खड्काको बलमा ललित राजवंशीले क्याच आउट गरे । यता पाँचौ नम्बरका ब्याट्सम्यान सिपी रिज्वानले ४५ रन जोडे । ७६ बलमा पाँच चौका प्रहार गरेका उनलाई नेपालका बिनोद भण्डारीले क्याच आउट गरे । 

त्यस्तै शैमान अनवर र मोहम्मद बुताले उत्कृष्ट ब्याटिङ गरे । अनवरले ८७ रनको अर्धशतकिय पारी खेले । यता बुताले ५९ रन बनाएका थिए ।

नेपालका कप्तान पारस खड्का र करण केसीले २-२ विकेट हात पारे । 

यसअघि नेपालले नेदरल्याण्डस्विरुद्ध पहिलो एकदिवसीय क्रिकेट सिरिज खेलेको थियो । जुन सिरिज एक-एकको बराबरीमा सकिएको थियो । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’बाट एकदिवसीयको मान्यता पाएपछि नेपालले युएईविरुद्ध दोस्रो सिरिज खेलेको हो । नेपाल पहिलो एकदिवसीयमा खेलमा घरेलु टोलीसँग ३ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा भने युएईलाई १ सय ४५ रनले पराजित गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?