अभिलाषा र सुनिरा राइजिङ स्टार खुला टेनिसको फाइनलमा

लोकपथ
28
Shares

अभिलाषा विष्ट र सुनिरा थापा प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा अभिलाषाले आइशा डोल्कर गुरुङलाई ६–४ र ६–० तथा सुनिराले प्रकृति श्रेष्ठलाई ६–४, ३–६ र ६–२ को सेटमा पराजित गरे ।
पुरुष सिंगल्समा प्रदीप खड्का र अभिषेक बास्तोला उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा प्रदीपले आर्यन गिरीलाई ६–० र ६–२ तथा अभिषेकले प्रणव खनाललाई ६–१ र ६–० को सोझो सेटमा हराए ।
नेपाल टेनिस संघको सहयोगमा भइरहेको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा पूर्व सिंगल्स राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार र महेश श्रेष्ठको जोडी पहिलो भए । उक्त जोडीले फाइनलमा अनिल साइ र गोपी भण्डारीको चुनौती ६–२, ४–६ र १०–८ ले पन्छाए । ५५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडीले फाइनलमा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीलाई सीधा सेटमा ६–३ र ६–० ले पाखा लगाउँदै विजेता  बने । ४५ वर्षमाथि मोहम्द युनुस र अन्वर अलीको जोडीले शीर्ष स्थान ओगटे । उनीहरुले फाइनलमा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीलाई ६–४ र ६–० ले निराश पारे ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा थोङवान तुलेश्वरले बिमल वाइबालाई ७–५ र ६–४ को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरे । फइनलमा तुलेश्वरको भेट राजु श्रेष्ठसंग हुनेछ । राजुले उत्तमकुमार लामाबाट वाक ओभर पाए । ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवारले महेश श्रेष्ठलाई ६–० र ६–२ तथा मोहम्द युनुसले मानबहादुर कट्वाललाई ६–० र ७–५ ले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?