काठमाडौं । लगानीकर्ताहरुको लागि यो साता सेयर बजार निकै नैं सुखद देखिएको छ ।
नियमित कारोबारको लागि सातामा पाँच कार्य दिन नैं खुल्ला रहेको नेप्से लगातार बढेको थियो । जसले गर्दा नेप्सेले यो साता दुई हजार बिन्दु चुमेको छ भने साप्ताहिक कारोबार रकम पनि बिगतको तुलनामा दोब्बर अंकले बढेको छ ।
सेयर बजार परिसुचक एवं कारोबार रकम दुबै बढ्नुले यो साता लगानीकर्ताहरु सेयर बजारप्रति निकै आशावादी देखिएका छन् । सेयरबजारमा देखिएका समस्यालाई सम्बोधन गर्नै गरी नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यसको लागि राष्ट्र बैंकले यही असार १० गतेसम्म मौद्रिक नीतिमा समेट्नु पर्ने बिषयहरुको बारेमा सुझाव पेश गरिसक्न आव्हान गरेको छ ।
यि सबै कारणले गर्दा पनि हुनसक्छ, लगानीकर्ताहरुको लागि यो साता सेयर बजार निकै सुखद देखिएको हो । जसअनुसार नेप्से दुई हजार ४२ दशमलव सात अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८३ दशमलव ३९ अंकमा अंकमा पुग्न सफल भएको छ । सातामा दुुई सय ८५ वटा कम्पनीहरुको तीन लाख १४ हजार चार सय २८ पटक सेयर किनबेच भएका छन् । जसबाट यो साता चार करोड ८२ लाख ४१ हजार आठ सय ७३ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम १८ अर्ब ६४ करोड ८१ लाख ६८ हजार चार सय ४९ रुपैंयाँ कायम हुन पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा आठ अर्ब रुपैंयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा १० अर्ब २८ करोड ५५ लाख ४८ हजार आठ सय ७६ रुपैंयाँको सेयर कारोबार भएको थियो । दुुई सय ७७ वटा कम्पनीहरुको एक लाख ८८ हजार छ सय ७९ पटकको कारोबारमा दुई करोड ८२ लाख २२ हजार नौं सय नौं कित्ता शेयर किनबेच हुँदा गत साता उक्त परिमाणमा रकम कारोबार भएको थियो ।
दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा यो साता नेप्से नियमित कारोबारको लागि पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, तेस्रो, चौंथो र पाँचौं दिन नै नेप्से बढेको थियो । सो मध्ये पहिलो दिन ४० दशमलव ४८ अंकले बढेर १९ सय ८० दशमलव शुन्य नौं अंकमा चढेको नेप्से दोस्रो दिन पनि सात दशमलव ७९ अंकले बढेर १९ सय ८७ दशमलव ८७ कायम रहन सफल भएको थियो । तेस्रो दिन पनि ३४ दशमलव १७ अंकले बढेर दुई हजार २० दशमलव ६४ अंकमा पुग्न सफल भएको नेप्से चौंथो दिन पुन १६ दशमलव ४२ अंकले बढेर दुई हजार ३७ दशमलव शुन्य छ अंकमा पुगेको थियो । पाँचौं दिन पनि नेप्से पाँच अंकले बढेर दुई हजार ४२ दशमलव शुन्य सात अंकमा कायम रहन सफल भएको थियो ।
यसैगरी पहिलो दिन छ दशमलव १० अंकले बढेर तीन सय ७० दशमलव ५२ अंकमा पुगेको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन पनि दुई दशमलव ८३ अंकले बढेर तीन सय ७३ दशमलव ३५ अंकमा पुग्न सफल भएको थियो । तेस्रो दिन पुन छ दशमलव ५२ अंकले बढेर तीन सय ७९ दशमलव ८७ अंकमा पुग्न सफल भएको सेन्सिटिभ इन्डेक्स चौथो दिन पनि तीन दशमलव ८२ अंकले बढेर तीन सय ८३ दशमलव ६९ अंकमा पुग्न सफल भएको थियो । पाँचौं दिन भने सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव शुन्य आठ अंकले घटेर तीन सय ८३ दशमलव ३९ अंकमा खुम्चिन पुगेको थियो ।
यो साता शिवम सिमेन्ट, एनआईसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, नबिल बैंक आदिको बढी रकम कारोबार भएका छन् भने हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट, एनआईसी एशिया बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया