काठमाडौं । नेपाल राष्ट्र बैकले भोलि मंगलबार पुन १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।
सो दिन अपरान्ह तीन बजेसम्ममा बोलकवोवलको माध्यमद्धारा छ बर्षे अवधिको विकास ऋणपत्र २०८६ “ङ” (६ बर्षे) बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ । ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले मंगलबार अपरान्ह तीन बजेसम्म बोलकबोल पेश गर्नुपर्ने छ ।
निष्काशन मिती २०८० असार छ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिती २०८६ असार ६ गते तोकिएको राष्ट्र बैंकको भनाई छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने छ । खरिद गरिएको ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने राष्ट्र बैंकको भनाई छ ।
इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुनसक्ने छन् । बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्ट्याइएको छ ।
अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकम भन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने राष्ट्र बैंकको भनाई छ ।
ऋणपत्रको लागि खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म तोकिएको छ ।
ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यि बाहेकका बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भने अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् । प्रतिस्पर्धी बोलवालाले खरीद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नु पर्नेछ भने अप्रतिस्पर्धी बोलवालाले खरीद गर्न चाहेको रकम मात्र उल्लेख गर्नु पर्ने राष्ट्र बैंकको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया