काठमाडौं । नेपाल धितोपत्र बजारमा शेयरको मूल्यमा निरन्तर ओरालो लाग्दा सबैभन्दा बढी जलविद्युत् कम्पनीका लगानीकर्ता प्रभावित भएका छन् ।
नेपाल स्टक एक्सचेञ्जमा बिहीवार भएको कारोवारलाई मूल्याङ्कन गर्दा कूल ११ जलविद्युत् कम्पनीका शेयर आधार मूल्यभन्दा तल रहेका छन् । प्रतिकित्ता एक सयमा खरीद गरेको शेयर अहिले एक सय भन्दा तल पुगेको छ ।
कुनै समय धेरै नाफा हुने भन्दै शेयर लगानीकर्ताको आकर्षणको केन्द्रमा रहेको जलविद्युत् कम्पनी पछिल्लो दिनमा आकर्षणमा समेत पर्न छाडेको छ । बजारमा समेत शेयर घट्ने उपसमूहमध्ये कमजोर अवस्थामा समेत सोही उपसमूह परेको छ ।
स्टकमा पछिल्लोपटक माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर सूचीकृत भएर कारोवार शुरु भएपछि २४ कम्पनी सूचीकृत छन् । ती कम्पनीमध्ये एकाधको मात्रै प्रतिकित्ता २ सय भन्दामाथि छ । स्टकको कारोवारका आधारमा हेर्दा आँखु खोला जलविद्युत् कम्पनीको शेयर प्रतिकित्ता ८५ मा कारोवार भएको छ ।
त्यस्तै वरुण हाइड्रो पावर कम्पनीको शेयर प्रतिकित्ता १ सय ३ मा खरीद बिक्री भएको छ । त्यस्तै अवस्थामा अरुण भ्याली हाइड्रो पावर कम्पनी पनि रहेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता १ सय ४ मा खरीद बिक्री भएको छ । बिहीवारको कारोवारको आधारमा छ्याङ्दी हाइड्रो पावर कम्पनीको शेयर आधरभूत मूल्यभन्दा तल घटेर ९८ मा झरेको छ ।
यस्तै दिव्येश्वरी हाइड्रो पावर कम्पनीको शेयर ९८ मा कारोवार भएको छ भने कालिका पावर कम्पनीको शेयर आधारभूत मूल्यभन्दा तल झरेर ९५ मा कारोवार भएको छ । आधारभूत मूल्यभन्दा तल रहेका जलविद्युत् कम्पनीमा खानीखोला हाइड्रो पावर कम्पनी पनि रहेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता ९४ मा कारोवार भएको छ ।
तयस्तै लगातार ओरालो लागेका नेशनल हाइड्रो पावर कम्पनीको शेयर ६७ मा कारोवार भएको छ । यता रैराङ हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको शेयर ९९ मा कारोवार हुँदा रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको लगानीकर्ताले पनि आफूले खरीद गरेको प्रति शेयरमा चारले घाटा लागेको छ । सो कम्पनीको शेयर ९६ मा खरीद बिक्री भएको छ ।
त्यस्तै सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडका शेयरधनीलेसमेत प्रतिकित्ता पाँचले गुमाएका छन् । सो कम्पनीको शेयर प्रतिकित्ता ९५ मा कारोवार भएको छ । कुनै समय आकर्षक कम्पनीका रुपमा रहेको अपि पावर कम्पनी शेयरसमेत निरन्तर ओरालो लागेर प्रतिकित्ता १ सय ४१ मा सीमित भएको छ ।
बजार घट्दा अरुण काबेली पावर कम्पनीको १ सय ८७ मा कारोवार भएको छ । ५ सय १ मा थप सार्वजनिक निष्काशन गरेको बुटवल पावर कम्पनीको शेयरसमेत बिहीवार ३ सय ६० मा खरीद बिक्री भएको छ ।
नेपालको धितोपत्र बजारमा कुनै समय सबैभन्दा बढी आकर्षक कम्पनीका रुपमा रहेको चिलिमे जलविद्युत् कम्पनीसमेत बजार घट्दा मर्कामा परेको छ । सो कम्पनीको शेयर ५ सय २४ मा खरीद बिक्री भएको छ । लगातार बजार घट्दा त्यसको सबैभन्दा बढी मारमा लगानीकर्ता परेका छन् ।
स्टकका अनुसार हिमालयन पावर पार्टनर लिमिटेड १ सय ८७, जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी २ सय २०, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड १ सय ३३, ङादी ग्रुप पावर लिमिटेड १ सय २८, पञ्चकन्या माई हाइड्रो पावर लिमिटेड १ सय ७, राधी विद्युत् कम्पनी १ सय ६४, सानिमा माई हाइड्रो पावर कम्पनी २ सय २९, युनाइटेड मोदी हाइड्रो पावर लिमिटेडका शेयर दोस्रो बजारमा प्रतिकित्ता १ सय १६ मा खरीद बिक्री भएको छ ।
बजार पूँजीकरणमा समेत उत्कृष्ट दशमा परेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयरसमेत ओरालो लागेर प्रतिकित्ता २ सय ५८ मा कारोवार भएको छ ।
शेयर सङ्ख्यामा आधारमा बढी शेयर भएको सो कम्पनीको शेयरसमेत एकाध साता बढे पनि पछिल्ला दिनमा क्रमशः घट्दै गएको छ ।
धितोपत्र बजारको विश्लेषक प्रकाश तिवारी राम्रो प्रतिफल दिन नसक्ने जलविद्युत् कम्पनीको शेयर घट्नुलाई स्वभाविक घटनाका रुपमा टिप्पणी गरे । लागत बढी भएका, प्रतिफल दिन नसक्ने कम्पनीप्रति क्रमशः लगानीकर्ता समेत नकारात्मक बन्दै गएको उल्लेख गर्दै उनले नाफा हुन्छ भनेर लगानी गरेका लगानीकर्ता भने समस्यामा परेको उनको भनाइ छ ।
चिलिमे, बुटवल पावर कम्पनी जस्ता एकाध कम्पनीले मात्रै शेयर लगानीकर्तालाई प्रतिफल दिने गरेका छन् । तर अधिकांश कम्पनीले लगानीकर्तालाई कुनै नाफा दिन नसकेको, बजारसमेत ओरालो लाग्दा त्यसबाट लगानीकर्ता प्रभावित भएको तिवारीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया