काठमाडौं । नेपालले संयुक्त अरब इमरेट्स ‘युएई’विरुद्धको दोस्रो खेलमा जीत हात पार्दै तीन टी-ट्वान्टी क्रिकेट सिरिजमा बराबरी गरेको छ ।
दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा शुक्रवार भएको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गर्दै सिरिजमा एक-एकको बराबरी गरेको हो ।
१ सय ७ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको नेपालले निर्धारित लक्ष्य १९ दशमलब ३ ओभरमा ६ विकेट गुमाउँदै पुरा ग-यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रनको योगदान दिए ।
ओपनर ब्याट्सम्यान कप्तान पारस खड्का शुन्य रनमा पेभेलियनमा फर्किए । उनलाई युएईका मोहम्मद नाभेदले आउट गरे । उनीसँगै आएका अर्का ओपरन ब्याट्सम्यान प्रदिप ऐरी ८ रन बनाएर आउट भए ।
उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रन बनाएर ‘एलबीडब्लु’मा आउट भए । करण केसीले २० रन जोडे । उनले २३ बलमा २ चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै पहिलो टी-ट्वान्टी क्रिकेटमा अर्धशकिय पारी खेल्दै सबै भन्दा कम उमेरमा ५० रन बनाउने नयाँ रेकर्ड बनाएका सन्दिप जोरा १ रनमा आउट भए ।
युएईका लागि सुल्तान अहमेदले २ तथा अमिर हायात र इमरान हाइदेरले समान एक-एक विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले १९ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७ रन बनाएको थियो । युएईका लागि सिपी रिज्वानले सर्वाधिक ४४ रनको योगदान दिए । ओपनर ब्याट्सम्यान आश्फाक अहमेद मात्र ४ रन बनाएर आउट भए ।
साइमन अन्वारले १४ रन, मोहम्मद बोटाले ११ रन, गुलाम शाब्बेरले ६ रन तथा कप्तान मोहम्मद नाभिद मात्र ६ रन बनाएर पेभेलिएनमा फर्किए ।
नेपालका लागि अविनाश बोहराले ३ तथा सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले समान दुई-दुई विकेट हात पारेका थिए ।
यसअघि भएको पहिलो टी-ट्वान्टी क्रिकेटमा नेपाल युएईसँग २१ रनले पराजित भएको थियो । त्यस्तै तीन एकदिवसीय क्रिकेटके सिरिज भने नेपालले २-१ ले आफ्नो पक्षमा पारेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया