काठमाडौं । संयुक्त अरब इमिरेट्स ‘युएई’ भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आज ‘आइतवार’ टि–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेल खेल्दैछ ।
दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट मैदानमा आज नेपालले युएर्यविरुद्ध अन्तिम तथा तेस्रो टि-ट्वान्टी क्रिकेट खेल्दैछ ।
तीन एकदिवसीय र तीन टि–ट्वान्टी सिरिजका लागि युएई पुगेको नेपाली टोलीले इतिहास कायम गर्दै एक दिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ ।
टि–ट्वान्टी सिरिजमा भने दुवै टिमले १–१ को बराबरी गरेको छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो खेल जित्दै सिरिज बराबरी गरेको हो । आज दिउँसो पौने ३ बजे हुने खेलमा नेपालले जित्नसके पहिलो टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको उपाधि जित्ने छ । सोही मैदानमा नेपालले ऐतिहासिक एकदिवसीय सिरिज जितेको थियो ।
राम्रो फर्ममा रहेका नेपाली टोलीले टि–ट्वान्टी सिरिज जितेर नेपालसामु अर्को इतिहास रच्ने मौका आएको छ । जुनसुकै ठूला प्रतियोगितामा नेपाली ब्याट्सम्यानको प्रदर्शनलाई लिएर टीप्काटिप्पणी हुने गरे पनि जारी सिरिजमा नेपाली ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गर्न सक्छन भन्ने प्रमाणित गरिसकेको छ ।
त्यसो त अझै युवा ब्याट्सम्यानद्वय रोहितकुमार पौडेल र सन्दीप जोराले आफूलाई उत्कृष्ट युवा ब्याट्सम्यान प्रमाणित गरिसकेका छन् । रोहितले कम उमेरमा अर्धशतक बनाउने नयाँ विश्व रेकर्ड बनाएका छन् भने जोराले टि–ट्वान्टी क्रिकेटमा कम उमेरमा अर्धशतक बनाउने रेकर्ड कायम गरिसकेका छन् ।
टि–ट्वान्टी सिरिजमा ओपनर ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्न नसेके पनि मध्यक्रमका ब्याट्सम्यानका तथा बलरहरुको प्रदर्शन देख्नलायक रहँदै आएको छ । दोस्रो टि–ट्वान्टीमा पनि मध्यक्रमका ब्याट्सम्यानले राम्रो साझेदारी गर्दा नेपालले चार बल बाँकी छँदा लक्ष्य भेट्टाएको थियो ।
नेपाली टोलीका कप्तान पारस खड्काले पनि नेपाली बलरको अलराउण्डर प्रदर्शनका कारण टि–ट्वान्टी अन्तर्गत दोस्रो खेलमा जित हासिल भएको बताइसकेका छन् ।
सन् २०१४ को टि–ट्वान्टी विश्वकपमा टि–ट्वान्टी अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको नेपालले २०१५ मा टि–ट्वान्टी विश्वकप छनोटमा खराब प्रदर्शनपछि मान्यता गुमाएको थियो । पुनःगत वर्ष मार्चमा एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपालले स्वतः टि–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यतासमेत पाएको छ ।
टि–ट्वान्टी सिरिजमा नेपालले युएईलाई पराजित गर्नसके नेपालको ऐतिहासिक पहिलो टि–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा पनि जित हुनेछ । जारी सिरिजमा नेपालका बलरको प्रदर्शन पनि उत्कृष्ट रहँदै आएको छ । विशेषगरी सोमपाल कामी र सन्दीप लामिछानेको योगदान अझै महत्वपूर्ण छ ।
सन् २०१५ को आयरल्याण्ड र स्कटल्याण्डले संयुक्तरुपमा आयोजना गरेको टि–ट्वान्टी विश्वकप छनोट नेपाल संयुक्त अरब इमिरेट्स ‘युएई’ सँग २० रनले पराजित भएको थियो । त्यस्तै सन् २०१४ मा बङ्गलादेशमा आयोजना भएको टि–ट्वान्टी विश्वकपअन्तर्गत अभ्यास खेलमा युएई ६ विकेटले विजयी भएको थियो ।
सन् २०१३ मा पनि भएको विश्वकप छनोटअन्तर्गतको खेलमा नेपालले युएईलाई उसकै घरेलु मैदानमा पाँच विकेटले पराजित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया