काठमाडौं । भृकुटीमण्डपमा जारी सूचना प्रविधिसम्बन्धी ‘क्यान इन्फोटेक’ मेलामा नौला प्रविधि अवलोकनार्थ सर्वसाधारणको आकर्षण बढ्दो छ ।
कम्प्युटर एसोसिएसन नेपाल ‘क्यान’ महासङ्घले यही माघ १५ गतेदेखि आयोजना गरेको २५ औँ क्यान मेला तीन दिनमै डेढ लाखभन्दा बढीले अवलोकन गरेका छन् ।
दैनिक जीवनमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिएका कारण पनि अवलोकनकर्ता विगतमा भन्दा बढी आकर्षित भएको क्यान महासङ्घकी उपाध्यक्ष सुनैना घिमिरेले बताए । मेलामा दूरदराजमा ड्रोन प्रयोग गरी औषधि ओसारपसार गर्ने, दूरशिक्षा सिकाइ, स्मार्ट होम र कृषि क्षेत्रमा प्रविधिको प्रयोग व्यवहारिक रूपमै देखाइएको छ ।
“ड्रोनबाट दूरदराजमा औषधि पठाउन सकिने, एक ठाउँबाट दुई–तीन ठाउँमा अध्ययन–अध्यापन गराउन सकिनेलगायत प्रविधिको व्यवहारिक प्रयोगमा यसपटक विशेष ध्यान दिएका छौँ”, उनले भने, “त्यसकारण पनि क्यान इन्फोटेक २०१९ विगतको भन्दा भिन्न छ ।”
‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएसन विथ इसेवा’ नाम दिइएको उक्त मेलामा सूचना तथा सञ्चार क्षेत्रको नौला प्रविधि र उपकरणका साथै नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविविध प्रदर्शनीमा राखिएका छन् ।
क्यान महासङ्घका अध्यक्ष हेमन्त चौरसियाले यसपटकको सूचना प्रविधि प्रदर्शनी सर्भिस सेक्टर र इन्नोभेसन केन्द्रित भएको बताए । “यसपटक बैंकिङलगायत क्षेत्रका लागि प्रविधिको प्रयोगलाई क्यानले विशेष प्राथमिकता दिएको छ । इन्नोभेसन सेक्टरमा आउन चाहनेका लागि मेला एक्सपोजर बनेको छ”,उनले भने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया