बैंकर्स संघ बैठकमा अर्को सहमति, निक्षेप नवीकरण गर्दा बढी ब्याज दिन पाइने

काठमाडौं ।  वाणिज्य बैंकले निक्षेप नवीकरण गर्दा बढी ब्याज दिन पाउने भएका छन् ।

नेपाल बैंकर्स सङ्घको आइतवारको बैठकले त्यस्तो निर्णय गरेको हो । पछिल्लो पटक ‘क’ वर्गका वाणिज्य बैंकले निक्षेप नवीकरण गर्दा बढी ब्याज लिएको भन्दै बैंकहरुबीच नै गुनासो बढेपछि सङ्घको बैठक बसेको हो । 

बैठकले नवीकरणको हकमा भने बढी ब्याज दिन पाउने व्यवस्था गरेको छ । संस्थागत निक्षेपकर्तालाई ८ दशमलब ५० प्रतिशतसम्म ब्याज दिन पाउने व्यवस्था यसअघि नै गरिएको थियो । त्यसमा बैंकले थप एक प्रतिशत बढी ब्याज दिन पाउने व्यवस्था गरिएको थियो । त्यसआधारमा वाणिज्य बैंकहरुले ९ दशमलब ५० प्रतिशतसम्म संस्थागत निक्षेपकर्तालाई ब्याज दिँदै आएका थिए । 

पछिल्ला दिनमा केही बैंकले निक्षेप नवीकरण गर्दा करीब दश प्रतिशतसम्म ब्याज दिने प्रस्ताव गरेका थिए । सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाका अनुसार निक्षेपको नवीकरण गर्दा केही बढी ब्याज दिने सहमति भएको हो । 

केही बैंकले सङ्घको निर्णयका आधारमा भन्दा पनि आफैँले स्वतन्त्र निर्णय गर्ने भन्दै संस्थागत निक्षेपकर्ताको ब्याज बढी दिने घोषणा गरेका थिए । वाणिज्य बैंकमा ऋणयोग्य रकमको अभाव देखिँदै आएको छ । यस्तै कर्जा–पूँजी निक्षेप अनुपात पनि ८० प्रतिशत बढी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?