नेपाललाई ऐतिहासिक टि-ट्वान्टी क्रिकेट सिरिजको उपाधि

काठमाडौं । नेपालले संयुक्त अरब इमिरेट्स ‘युएई’विरुद्धको तीन टि-ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ । 

दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा आइतवार भएको अन्तिम तथा तेस्रो टि-ट्वान्टी क्रिकेटमा नेपालले युएईलाई १४ रनले पराजित गर्दै नेपालले तीन खेलको सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हो । यो जितपछि नेपालले अनतर्राष्ट्रिय टि-ट्वान्टी सिरिजमा ऐतिहासिक जित निकालेको हो ।

१ सय ५ रनको लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको युएईको पारी निर्धारित १० ओभरमा ८ विकेटको क्षतीमा मात्र ९० रनमा समेटिएको थियो । युएईका लागि शाइमन अनवरले सर्वाधिक ३० रनको योगदान दिए ।   गुलाम सब्बिरले २५ तथा मोहमद बोताले ११ रन जोडे ।

नेपालका लागि करण केसी, अविनास बोहरा र ललित नारायण राजवंशीले समान २-२ विकेट हात पारे । त्यस्तै सन्दीप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिए । यी दुई टिमबीचको खेल वर्षाले प्रभावित बनेपछि २० ओभरको खेल १० ओभरमा घटाइएको थियो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो ।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २९ तथा सन्दीप जोराले २८ रन बनाए । त्यस्तै बिनोद भण्डारीले २१ रन, उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रन, करण केसीले १० रन तथा  दिपेन्द्र सिंह ऐरीले २ रन जोडे । 

युएईका मोहमद नाभिद र सुल्तान अहमेदले २-२ विकेट लिएका थिए। खेलको प्लेयर अफ द म्याच करन केसी तथा प्लेयर अफ द सिरिज नेपालकै अविनाश बोहरा भए । 

योसँगै नेपालले युएईविरुद्ध दुई सिरिजमा कब्जा जमाएको छ । यसअघि नेपालले एकदिवसीय क्रिकेट सिरिज २-१ ले जितेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?