नेपाली क्रिकेट टिमलाई उपराष्ट्रपतिको बधाई

काठमाडौं ।  उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली क्रिकेटमा नयाँ इतिहास रचेर नेपालीलाई खुशी दिएकामा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई विशेष धन्यवादसहित बधाई दिएका छन् । 

उपराष्ट्रपतिले आइतवार  एक शुभकामना सन्देश दिँदै नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का तथा टिमका सदस्यप्रति विशेष धन्यवादसहित सम्मान व्यक्त गरेका थिए ।

उनले संयुक्त अरब इमिरेट्स ‘युएई’ विरुद्धको एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेर इतिहास बनाएकामा खुशी व्यक्त गरे ।

 उपराष्ट्रपति पुनले प्रतियोगिताका क्रममा अन्तर्राष्ट्रियस्तरमा नै कम उमेरमा अर्धशतकको रेकर्ड बनाउने रोहितकुमार पौडेल र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कम उमेरमा अर्धशतकको रेकर्ड बनाउने सन्दीप जोरालगायत खेलाडीलाई बधाई तथा धन्यवादसमेत दिएका छन् । 

उनले सीमित साधन स्रोतको बाबजुद राष्ट्रिय क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरेर नेपालीलाई खुशी दिनु राष्ट्रकै गौरव र प्रतिष्ठा भएको उल्लेख गर्दै नेपालले छिट्टै एकदिवसीय र टि–२० विश्वकप खेल्ने विश्वास व्यक्त गरे । 

उपराष्ट्रपति पुनले ले क्रिकेटलगायत खेलकूदको विकासका लागि सुविधा सम्पन्न खेलमैदान निर्माण गर्नुका साथै लगानी वृद्धि गर्न सबै पक्षको ध्यानाकर्षण गराए ।

क्रिकेटमा प्राप्त उपलब्धि र यसबाट प्राप्त खुशीलाई नेपाली क्रिकेट र समग्र खेलकूदको विकासमा रुपान्तरण गर्न सबैलाई अपिल गरेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?