बजेटको स्रोत कम भएकाले सबैलाई समेट्न सकिन : अर्थमन्त्री महत

लोकपथ
7
Shares

काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेटको स्रोत कम भएकोले  सबैलाई समेट् नसकेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रममा महतले बजेटमा धेरैको चाहना पु-याउन नसकेको तर अर्थतन्त्रलाई चलायमान गर्ने गरि निष्पक्ष भएर बजेट ल्याएको बताएका छन् ।

उनले कसौँडीमा पकाएको चामल आकारको सानो बजेटको स्रोतले सबै जन्तीलाई भाग पु-याउन नसकेको धारणा राखे । तर,उनले भएको स्रोतले जायज कुरालाई सम्बोधन गरेको दावी गरे ।

‘अहिले मैले सरकारको तर्फबाट बजेट प्रस्तुत गरेँ । अनेकौँखाले अन्योलताको बीचमा दुई महिनामा मैले बजेट ल्याउनुपर्ने स्थिति थियो । तर मैले दृढ निश्चय गरेर जे जायज छ, जे उपयुक्त छ, जसले यो अर्थतन्त्रलाई चलायमान गर्न सक्छ,त्यसलाई मध्यनजर गरेर कसैको मुख नहेरीकन कसैलाई फाइदा पु-याउने, कसैलाई बेफाइदा पुग्ने गरी होइन, आम नागरिकलाई भलो हुने गरि अर्थतन्त्र चलायमान हुने, राजश्वलाई वैज्ञानिक ढंगबाट करको दायरामा नआएकाहरूलाई दायरामा ल्याउने गरी बजेट ल्याएको छु ।’

उनले बजेटमा कुनै पक्ष र विपक्षलाई फाइदा हुने वा नहुने गरि भन्दा पारदर्शीतालाई ध्यानमा राखेर सम्बोधन गरेको उल्लेख गरे । ‘ मैले कसैलाई फाइदा पु-याउने वा नपु-याउने गरी होइन, आम नागरिकको विकास, सुशासन र पारदर्शीताको सुनिश्चितताको जुन आकंक्षा राखेका छन् त्यसलाई मध्यनजर राखेर कुनै पनि लोभ मोह नराखिकन बजेटलाई अगाडि बढाइयो ।’ मन्त्री महतले भने ।

त्यस्तै,उनले संयुक्त सरकारमा तान्ने र धकेल्ने प्रवृति रहेको भन्दै बजेटबारे सबैको चाहनालाई सानो स्रोतले पूर्ति गर्न नसक्दा असन्तुष्टि आएको स्पस्ट पारे ।

उनले भने, ‘यो संयुक्त सरकार हो, विभिन्न चाहना, मागहरु र तान्ने र धकेल्ने अवस्थामा एकातिर तान्यो अर्कोतिर खुस्किने, एउटा कसौँडीमा पाक्नसक्ने चामल छ, अब जन्ती बराबरलाई खुवाउनु परेको खण्डमा के हुन्छ ? आम्दानी र सरसामान छ कसौँडीमा पकाउने बराबरको,सबैको चाहना पूर्ति गर्न ठूलो खड्कुलोमा पकाउँदा पनि पुग्दैन त्यो अवस्थामा के हुन्छ ,सबैको भावनाको सम्बोधन गर्न सकिँदैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?