इंग्लिस प्रिमियर लिग : म्यान्चेस्टर सिटी लिगको शिर्ष स्थानमा उक्लियो, लिभरपुल दोस्रो स्थानमा

एजेन्सी । म्यान्चेस्टर सिटी जारी इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको हो । 

बुधवार राति सम्पन्न भएको २६ औँ चरणको खेलमा सिटीले लिगको नवौं स्थानमा रहेको इभर्टनलाई २-० गोल अन्तरले पराजित गर्दै शिर्ष स्थानमा कमब्याक गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ सकिनै लाग्दा सिटीका लागि आयमेरिक लापोर्टेले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

उनले डेभिड सिल्भाले दिएको पासलाई सदपयोग गर्दै गोल पोष्टको जाली चुमाएका हुन् । पहिलो हाफमा एक-शुन्य गोल अन्तरको अग्रता लिएको म्यान्चेस्टर सिटीले दोस्रो हाफमा थप एक गोल ग-यो । खेलको अतिरिक्त समयमा सिटीका लागि ग्याब्रियल जिससले गोल गरेपछि इभर्टन स्तब्ध बनेको हो । 

लामो समयसम्म लिगको शिर्ष स्थानमा रहँदै उपाधि होडलाई बलियो बनाएको लिभरपुलले गत मंगलवार वेस्टह्यामसँग एक-एक गोलको बराबरी खेलेको थियो ।

समान ६२ अंक बनाएको म्यान्चेस्टर सिटी गोल अन्तरको आधारमा अघि रहँदै लिगको शिर्ष स्थानमा छ भने लिभरपुल दोस्रो स्थानमा छ ।

डिसेम्बर १६ पछि सिटी पहिलो पटक लिगको  पहिलो स्थानमा उक्लिएको हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?